-नारायण गाउँले
लाग्छ, हामी अलि बढी नै निगेटिभ छौँ । आफ्नै प्रधानमन्त्रीलाई विश्वकै प्रभावशाली नेताहरूको सूचीमा पाउँदा हामी सबैलाई गौरव लाग्न पर्ने हो । एउटा अन्तर्राष्ट्रिय मिडियाले नाम समावेश गर्नेबित्तिकै त्यसले देशमैँ ठूलो परिवर्तन ल्याउने भन्ने पक्कै होइन । तर त्यो म्यागजिन चटपट खान प्रयोग हुने सामान्य पत्रिका पनि होइन ।
विश्वभर त्यसको लहर पुग्छ । अन्तर्राष्ट्रिय पहिचान, प्रतिष्ठा र व्यक्तित्व उचालिन्छ । छिमेकी भारतले विश्वमा आफ्नो प्रतिष्ठा बढाउन र अन्तर्राष्ट्रिय व्यक्तित्व बनाउन कति धेरै मिहिनेत र लगानी गर्छ । डोनाल्ड ट्रम्पजस्तो विश्वकै शक्तिशाली व्यक्तिलाई त यस्तो सूची र अन्तर्राष्ट्रिय पुरस्कारको लोभ हुन्छ भने हाम्रा लागि नहुने कुरो भएन । यसले बालेनमात्रै चिनिने होइन, सँगसँगै नेपाल पनि चिनिन्छ ।
अमेरिकी दादागिरीविरुद्ध सशक्त आबाज उठाएका क्यानडेली प्रधानमन्त्री मार्क कार्नीदेखि छिमेकी नेताहरू सी जिन पिङ र तारिक रहमानसँगै हाम्रा प्रधानमन्त्रीको नाम आउँदा स्वाभाविक रूपले नै खुशी लाग्छ । यद्यपि यी सबै नाम कामका आधारमा नभएर ’इन्फ्लुएन्स’का आधारमा भएकाले सबै नामप्रति हामीलाई सम्मान नहुन पनि सक्छ । तैपनि देशदेखि विदेशसम्म बालेनले पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मिडियाले पनि देखेका छन् । आज धेरै देशका नागरिकलाई नेपाली प्रधानमन्त्रीको नाम थाहा छ । कसैको बहुमत नआउने भनिएको व्यवस्थाभित्रैबाट झन्डै दुई तिहाई बहुमत आउनु आफैमा ठूलो प्रभाव हो । त्यो प्रभाव अब नामबाट काममा पनि देखिनुपर्छ भन्ने चाहना हामी सबैको हो ।
यसअघि हाम्रा पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई पनि बेलायतको प्रसिद्ध पत्रिका ’फाइनेन्सियल टाइम्स’ ग्रुपको ’द ब्याङ्कर’ भन्ने म्यागजिनले ‘ग्लोबल एन्ड एसिया प्यासिफिक फाइनान्स मिनिस्टर अफ द इयर २०१६’ अवार्ड दिएको थियो । हामीले खिसिट्युरी गर्यौँ । एउटा पनि सकारात्मक कमेन्ट आएन । देशमा गएको महाभूकम्प र ठूलो धनजनको क्षतिपछि पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसम्म हारगुहार गरेर, एडीबीदेखि विश्वब्याङ्क र भारतदेखि चीनसम्म सबैलाई विश्वासमा लिएर ’नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ महतकै पहल र सक्रियताका कारण सम्भव भएको थियो । त्यो बेला झन्डै ४ बिलियन डलरको प्रतिबद्धता दातृराष्ट्र र निकायले गरेका थिए, जुन धेरै अल्पविकसित देशका लागि लोभलाग्दो उपलब्धि थियो । त्यो रकम सानोतिनो नभएर झन्डै नेपालको कूल वार्षिक बजेट जति थियो ।
त्यसरी आएको रकमले ढलेका संरचना उठे, गाउँगाउँसम्म घर पुनर्निर्माणका लागि रकम पुग्यो । ढलेको अर्थतन्त्र चलायमान बन्यो । उनले कडा आर्थिक अनुशासन लागू गरे । अचम्म त झन्डै उद्योगधन्दादेखि कृषिसम्म सात बिलियन डलर जति क्षति भएको भूकम्पपछि आएको बजेट पनि वचतमा गयो । उत्तराद्र्धमा भारतीय नाकाबन्दीले अर्थतन्त्र फेरि खुम्चियो तर त्यो भयानक क्षतिबाट देश पार भयो !
महतले यूएनडीपीको उच्च जागीर छोडेर नेपाली राजनीति सुरु गरेका थिए । उनकै विज्ञता र सक्रियताका कारण नेपालमा भ्याटको सुरुवात भएको र राजश्व वृद्धि भएको थियो । महतजस्तै केही प्रतिभावान अर्थशास्त्रीहरूकै कारण १० वर्ष गृहयुद्ध र एक तिहाई जिडीपी नै खत्तम भएको भूकम्पपछि पनि नेपाली अर्थतन्त्र धराशायी भएन । संयोग नै भन्नुपर्छ, यो देशले आजसम्मैं एकदम खराब अर्थमन्त्री पाएको छैन । नत्र १० वर्षसम्म गृहयुद्ध भएका मुलुक आज पनि खरानी टकटक्याउँदै छन् ।
अन्तर्राष्ट्रिय समुदायले यो सबै देख्यो र महतलाई पुरस्कृत गर्यो । हामीले देखेनौँ । उनकै दल कांग्रेसले देखेन । किनकी रकमान्तर गर्न नमान्ने, आफ्नै भ्रष्ट कार्यकर्तालाई चन्दा दिन नमान्ने र नेता रिझाऊन खुद्रे योजना स्वीकार नगर्ने हुनाले उनी कसैका प्रिय थिएनन् ।
राजनैतिक व्यक्ति र नेतासँग हाम्रा सम्मति र विमति दुबै हुन्छन् । तिनका पनि गुण र अवगुण दुबै हुन्छन् । आँखा चिम्लेर गरिने समर्थन या विरोध दुबै गलत हुन्छ । तर जनताको भोटबाट चुनिएका र देशको उच्च पदमा पुगेका नेतालाई गरिने अन्तर्राष्ट्रिय सम्मान या रिकग्निशन पनि देशकै सम्मान र कदरजस्तो हो । अन्तर्राष्ट्रिय मञ्च, चर्चा र मुद्दाहरूमा देशको नाम देख्दा, आफ्नै प्रधानमन्त्रीको अनुहार देख्दा कसलाई खुशी नलाग्दो हो र यस्तो विषयमा समेत खिसिट्युरी गर्नेहरूलाई देखेर भने अचम्म लागेको छ । रचनात्मक विरोधका लागि त थुप्रै जेनुइन विषय हुन्छन् नि । सबै कुरामा दुःखीमात्रै हुने हो भने त अबको पाँच वर्षमा हामी मुटुरोगले सिद्धिन्छौँ । बालेनजीलाई हार्दिक बधाई ।
