प्रचण्डले धक्का दिन्छन् कि धोका पाउँछन् ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता सम्हालेको पुस १० गते एकवर्ष हुँदैछ । सरकार गठनको एकवर्ष पुग्नै लाग्दा प्रधानमन्त्री प्रचण्ड अहिले दश बजे नै सिंहदरबार जान थालेका छन् । अब नयाँ ढंगले काम गर्ने भन्दै प्रधानमन्त्रीले त्यसका लागि आफैंबाट सुरू गर्ने बताउँदै नियमित सिंहदरबार जान थालेका हुन् । एकवर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले देश र जनताका नाममा सम्बोधन गर्दै नयाँ सन्देश दिने तयारी गरेका छन् । त्यसकै तयारीका लागि प्रधानमन्त्रीले अहिले मन्त्रालयगत समीक्षा बैठक गरिरहेका छन् । समीक्षात्मक बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई अब आफू नयाँ ढंगबाट अघि बढ्नै भन्दै त्यसमा सहमत नहुनेले सरकारबाट बाहिरिनु पर्ने सन्देश समेत दिने गरेका छन् । उनले बैठकमा भन्ने गरेका छन्, ‘मेरो नेतृत्वको सरकार गठन भएको एक वर्ष पुग्दैछ, अर्को वर्ष हामी नयाँ ढङ्गले जाने हो । त्यसका लागि हाम्रो सोच बदलौँ, कार्यशैली पनि बदलौँ । म गम्भीर ढङ्गले मन्त्रालयका कुरा सुन्ने, बुझ्ने र परिणाम ल्याउनेमा छु । मैले कार्यशैली परिवर्तन गर्दैछु, तपाईहरू के गर्नुहुन्छ ? देश र जनताका लागि दृढ भएर अगाडि बढ्नेतिर सोच्नुस् । हामीले राम्रो काम गर्दै गएपछि नराम्रो उद्देश्य बोकेका पर्दाफास हुन्छन् । त्यसरी काम गरौँ ।’

प्रधानमन्त्री मन्त्रिपरिषदका सबै सदस्य परिवर्तन गर्ने तयारीमा रहेका बताइएको छ । प्रधानमन्त्रीको भनाईबाट पनि यो कुराको पुष्टि हुन्छ । प्रधानमन्त्रीले दैनिकजसो अब आफू नयाँ ढंगले अघि बढ्ने बताउने गरेका छन् । शुक्रबार मोरङको मिक्लाजुङमा आयोजित पार्टीको सभालाई सम्बोधनका क्रममा पनि प्रधानमन्त्रीले मन्त्री फेरेर भएपनि सरकारको कामलाई गतिदिने सोचमा आफू रहेको बताए । केही दिनअघि संसदको राज्य व्यवसथ तथा सुशासन समितिको बैठकमा पुगेर प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारी र भूमाफियाहरूलाई कारबाही गर्न सरकारले आक्रामक ढंगले काम गर्ने समेत बताएका थिए । उनको भनाई थियो, ’सरकारले भ्रष्टाचारी र भूमाफियाहरूलाई कारबाहीको दायरामा ल्याइरहेको छ । तर, सोचेको जति काम गर्न सकिएको छैन । अझै भ्रष्टाचारी र भूमाफियामाथि हान्न मन छ ।’

प्रधानमन्त्रीका यी भनाइबाट पनि के बुझ्न सकिन्छ भने अब उनी सरकारलाई अलि गति दिनुपर्ने सोचमा छन् । उनका अहिलेका काम गराई पनि त्यस्तै देखिन थालेका छन् । गत भदौमा प्रधानमन्त्री प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई डेडिकेटेड लाइन र ट्रंकलाइनवापतको शुल्क उठाउन रोकेका थिए । तर बिहीबार त्यस्ता लाइनको बिजुली काटेर महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिए । उनले ठूला उद्योगको लाइन काटेर राजस्व उठाउन निर्देशन दिएलगत्तै शुक्रबार प्राधिकरणले केही उद्योगको लाइन काटिदिएको छ । प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पीनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटिएको छ । प्राधिकरणका अनुसार जगदम्बाले मात्रै चार अर्ब १४ करोड बराबरको महसुल तिर्न बाँकी छ । यस्तै, रिलायन्सले एक अर्ब ९४ करोड, घोराही सिमेन्टले एक अर्ब ३६ करोड बक्यौता भुक्तानी गर्न बाँकी छ । प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टले एक अर्ब ३० करोड बराबरको महसुल बुझाउन बाँकी छ । सरकारको काम सुस्त भएको र नागरिकको आक्रोश बढेपछि प्रधानमन्त्रीले देखिने गरी काम गर्न यस्तो काम सुरु गरेका हुन् । अवैध सुन तस्करी, नक्कली शरणार्थी काण्ड र एनसेल शेयर बिक्री प्रकरणमा प्रधानमन्त्री दाहाल केही प्रखर भएर प्रस्तुत पनि भइरहेका छन् । नक्कली शरणार्थी प्रकरण र सुन तस्करीमा भने सरकार आलोचित नै बनेको छ । तर प्रधानमन्त्री नक्कली शरणार्थी काण्डको दोस्रो चरणको अनुसन्धान अघि बढाउने सोचमा रहेको बताइन्छ ।

एकवर्षे कार्यकालको अन्त्यतिर प्रधानमन्त्रीले सरकारको गियर बदल्ने कुरा र काम देखाउन खोजेपनि यो संयुक्त सरकार हो । माओवादी संसदको तेस्रो ठूलो दल हो । यदि कांग्रेसले हात उठाएको अवस्थामा प्रचण्डका यी सारा योजना सपनामा सीमित हुन्छन् । किनकी सरकारसँग कांग्रेस सभापति शेरबहादुर देउवा सन्तुष्ट भएपनि गगन शेखर समूह भने असन्तुष्ट छ । केही दिनअघि बसेको शेखर समूहको बैठकमा पार्टीको संसदीय दलको नेता शेखरलाई बनाउने कुरा पनि उठेको छ । बैठकमा महामन्त्री थापाले भनेका थिए, ‘हामी एकतावद्ध भएर संसदीय दलको नेता फेर्न लागौं, देउवा नै प्रधानमन्त्री हुने अवस्था भयो भने २०८२ मा महाधिवेशन हुन सक्दैन।’ यदि कांग्रेसमा संसदीय दलको नेता परिवर्तन भयो भने कांग्रेसले नेतृत्व पक्कै लिन्छ । त्यस्तै शेखर कोइरालाले पनि प्रधानमन्त्रीसँग रिपोर्ट कार्ड माग्ने भन्दै आएका छन् । उनको भनाई छ,‘प्रधानमन्त्रीज्यूले मन्त्रीहरुको रिपोर्ट कार्ड मागिराख्नु भएको छ । संसदीय व्यवस्थामा प्रधानमन्त्री सर्वैसर्वा हुनुहुन्छ । म त प्रधानमन्त्री रिपोर्ट मागिरहेको छु । यो एक वर्षमा के के काम गर्नुभयो भनेर रिपोर्ट कार्ड लिन आवश्यक छ ।’

हुन त प्रधानमन्त्रीले कांग्रेसबाट गगन थापा जस्ता हुटहुटी भएका नेतालाई सरकारमा पठाउन आग्रह गरेको कुरा पनि बाहिर आएको छ । कांग्रेसका गगन-शेखर समूहलाई विश्वासमा लिएर साँच्चै अब काम गर्ने सोच प्रधानमन्त्रीले बनाए त प्रधानमन्त्रीले धक्का पक्कै दिनेछन् । यदि त्यस्तो अवस्था रहेन भने ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *