निगम र अध्यागमनका कर्मचारीको मिलेमतोमा भिजिट भिसामा विदेश पठाउने गिरोह सक्रिय

काठमाडौँ । प्रहरीले नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई पक्राउ गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालले असोज १९ गतेदेखि हालसम्ममा ३२ जना पक्राउ गरेको जानकारी दिएको हो ।

पक्राउ पर्नेमा सरकारी कर्मचारीदेखि ट्राभल एजेन्सी सञ्चालकसमेत छन् । पत्रकार सम्मेलनमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले गत असोज १९ गतेदेखि हालसम्म यस प्रकरणका ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

नक्कली कागजात बनाइ भिजिट भिसामा विदेश जाने प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, नेपाल वायु सेवा निगमका कर्मचारी २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरु ११ जना रहेका छन् ।

ती मध्ये ९ जनाको संगठित अपराधमा अनुसन्धान भइरहेको र लिखत सम्बन्धी कसुरमा १२ जनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए । आठ जना धरौटीमा छुटिसकेका र बुधबार थप तीन जनालाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको उनले बताए ।

पक्राउ पर्ने ट्राभल एजेन्सीका सञ्चालकहरुमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, एण्ड होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल, एडभान्स म्यानेजमेण्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे छन् ।

त्यस्तै पक्राउ पर्नेहरुमा अध्यागमन विभागका अध्यागमन अधिकृत नरविर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरविन यादव र होम पोखरेल छन् । कागजात मिलाए बापत ट्राभल्सहरुले प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने गरेका र अध्यागमन विभागका कर्मचारीहरुले नयाँको हकमा ५५ हजार र एकपटक गएर फर्किएकाको हकमा भने ४० हजार रुपैयाँ लिने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक गोविन्द पन्थीले भिजिट भिसामार्फत अन्य देश जान कम्तीमा १२ कक्षा उत्तीर्ण भएको प्रमाणपत्र र बैंकमा दुई लाख रुपैया देखाउनुपर्ने भएकाले सोही अनुसारको नक्कली कागजपत्र बनाउने गरेको पाइएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *