लेनिनको देशमा पुटिनको सिपाहीको रुपमा बन्दुक बोकेकोप्रति कुनै गुनासो छैन

म रसियन सेनामा भर्ती भएको भन्ने जानकारी पाएपछि नेपाली मूलधारका मिडियामा आवद्ध मिडियाकर्मी साथीहरूबाट त्यहाँको अवस्थावारे केही बोल्दिनुपर्यो भनेर धेरै नै अनुरोध गरिरहनु भएको छ । यसबारे यहाँ आएका अरु साथीहरूले के बोल्छन, के गर्छन् त्यो उनीहरुको विषय भयो तर म सार्वजनिक रुपमा के भन्न चाहन्छु भने हिजो जनयुद्धमार्फत राज्यसत्ताको आमुल परिवर्तनको लागि बन्दुक बोकेर झण्डै १ दशक रगत/पसिना बगाईयो, अंशमा केही परिवर्तन त भयो तर समग्रमा दलाल राज्यसत्ताको मुल चरित्रलाई विस्थापित गर्न सकिएन । परिणामतः आजपनि सत्ता÷शक्तिको वरिपरि केही मुठ्ठीभर दलाल पूँजीपतिहरुकै जगजगी छ । परिवर्तनको लागि दशकौं योगदान गरेका हजारौं योद्वाहरु आज परिवार पाल्नकै लागि विदेशका गल्ली गल्लीमा भौंतारिनु पर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ ।

यही कारण उच्च जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि आफ्नै स्वेच्छाले यहाँ आएर रुसी सेनामा भर्ती भइएको छ । पृष्ठभूमि, कथा/व्यथा भिन्नभिन्न होलान् तर बाध्यताले दोहोर्याएका हजारौं नेपाली युवाहरु अहिले रसियन सेनामा भर्ती भई युद्धको मोर्चामा खटिइरहनु भएको छ । युद्धरत देशको(यो सामान्य सैनिक जागिर जस्तो होइन)सैन्य फौजमा कार्यरत रहँदा सकारात्मकनकारात्मक सबै विषय अनुभुत गर्न सकिन्छ । यद्यपि यी विषय सार्वजनिक गर्ने कुरा एक जिम्मेवार सिपाहीको अनुशासनको दायराभित्र पर्दैन भन्नेमा म एकदमै सचेत छु । युद्धरत देशको सिपाहीको मुख्य जिम्मेवारी के हो ? युद्ध मैदानमा प्रवेश गरिसकेपछि के–के हुन्छ ?के–के गर्नुपर्छ ?के–के भोग्नुपर्छ ? सैन्य संगठनभित्र के गर्न पाईन्छ/के गर्न पाइन्न ?सैन्य कानुन/अनुशासन के–कस्तो हुन्छ भन्नेमा मिडियाकर्मी मित्रहरु पक्कै पनि अनभिज्ञ हुनुहुन्न । तसर्थ विषयवस्तुलाई यसरी सरल रुपमा बुझिदिनुहुन म विशेष आग्रह गर्दछु ।

युद्धको क्रममा हुने कतिपय सानातिना घटनालाई आधार बनाएर सामाजिक सञ्जाल/मिडिया हाउसहरुमार्फत रुस विरुद्ध भ्रामक प्रचार गर्ने अमेरिकी/युरोपियन गठवन्धन एवम् तिनका एजेन्टहरुको मतियार बन्न सकिन्न । न त हिजो आफ्नै देशको जनयुद्धमा सहभागी भएर बन्दुक बोकेकोप्रति कुनै पश्चाताप छ न त आज भिन्न उद्देश्यसहित लेनिनको देशमा पुटिनको सिपाहीको रुपमा बन्दुक बोकेकोप्रति कुनै गुनासो छ । आफ्नो स्वेच्छाले रोजेको यात्रा गन्तव्यहीन र अर्थहीन कहिल्यै लाग्दैन । जोखिमपूर्ण यात्राको पाइला–पाइलामा चुनौति त छ नै । यद्यपि हार कहिल्यै मानिदैन, गन्तव्यमा पुग्ने आत्मविश्वास यथावत् छ ।
अन्त्यमाः–
सयौं साथीहरूले रसिया भर्ती हुन आउनुपर्यो, के–कसरी हो ? च्यानल मिलाईदिनुपर्यो भनेर म्यासेज गरिराख्नु भएकोछ । एक–एक गरेर सबैलाई जवाफ दिन सम्भव भएन तसर्थ यसै सार्वजनिक सूचनामार्फत जानकारी । यहाँ अहिले भर्ती बन्द छ, दलालहरुको भ्रममा नपर्नुहोला ।

धन्यवाद

डायमन्ड सी म्याग्देली ।

डायमन्ड माओवादीका पूर्वलडाकू हुन् । उनी अहिले रसियाली सेनामा भर्ती भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *