रुकुम पश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २३ जनालाई अदालतले दोषी ठहर गरेको छ ।
मंगलबार जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिएका छन् ।
आइतबारदेखि उक्त मुद्दामा अन्तिम सुनुवाइ सुरु भएकोमा मंगलबार अन्तिम आदेश आएको हो । उनीहरुलाई जातीय छुवाछुतको कसुरमा थप दुई वर्ष कैद र ५० हजार जरिवानाको पनि फैसला भएको छ ।
घटनामा संलग्न रहेका २३ पूर्पक्षका लागि कारागारमा थिए भने ३ जना थुनाबाहिर थिए । ती ३ जनालाई जातीय छुवाछुतको कसूरमा २ वर्ष कैदको सजाय सुनाइएको छ ।
दोषीहरुबाट जनही ४० हजार रुपैया भराउने र उक्त रकम मृतकका परिवारलाई दामासाहीले दिने पनि फैसलामा छ । २०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका थिए ।
त्यहीबेला उनीहरूमाथि सोती गाउँका स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए । उनीहरूको शव दुई सातासम्मको खोजीपछि भेरी नदी किनारबाट संकलन गरिएको थियो ।
घटनामा नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो । नवराजका बुबा मुनलाल नेपालीको जाहेरीका आधारमा उक्त घटनामा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलेको थियो ।