दोलखामा शिकार खेल्न गएका एक युवकको गोली लागेर मृत्यु, ६ जना पक्राउ

चरिकोट । दोलखामा शिकार खेल्न गएका एक युवकको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको छ । युवकको मृत्यु भएपछि प्रहरीले उनीसँगै सिकार गएका ६ जनालाई पक्राउ गरेको छ ।

गएराति शिकार खेल्न गएका तामाकोशी गाउँपालिका–२ झुलेका २० वर्षीय सञ्जिव मिजारको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक खड्काले जानकारी दिए ।

छातीमा छर्रा लागेर गम्भीर घाइते भएका मिजारको तामाकोशी सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। थप उपचारका लागि राति नै उनलाई चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल लगिएको थियो ।

अस्पताल पुर्याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । पक्राउ पर्नेमा तामाकोशी गाउँपालिका–३ का १६ वर्षीय कृष्ण नेपाली, सोही ठाउँका १८ वर्षीय रचेस मुग्राती, १५ वर्षीय सुमन तोलांगी, २२ वर्षीय माधव पोख्रेल, ४२ वर्षीय सञ्जिव पोख्रेल र तामाकोशी गाउँपालिका–२ झुलेका २५ वर्षीय अविदित कार्की छन् । सात जनाको समूह गएराति स्थानीय डाँडाबारी जंगलमा वन्यजन्तुको शिकार खेल्न गएका बेला घटना भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *