चितवनमा खाल्डोमा पारेर दुई वटा गैंडा मार्ने आठजना सार्वजनिक

भरतपुर । दशैतिहारको मौका छोपी चितवन राष्ट्रिय निकुञ्जमा खाल्डो खनी दुईवटा गैँडा मार्ने आठ जनालाई तस्करलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीबार चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरामा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको हो ।

तस्करहरूले निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारेका थिए । अन्दाजी १८ र ६ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो तस्कर पक्राउ गर्न खटिएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा रहेको केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको समन्वयमा र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको एक्सनसहित नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्ज समेतको संलग्नतामा विशेष अप्रेसन सञ्चालन गरी उनीहरुलाई पक्राउ गरिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धु प्रसाद ढुंगानाका अनुसार पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ लेबर्ट बस्ने ३३ वर्षीय रमेश खाती रहेका छन् । उनलाई मंसिर ९ गते चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ बाट पक्राउ गरिएको हो ।

उनलाई गैंडाको खाग बिक्री गर्ने मुख्य योजनाकार रहेको ढुंगानाले बताए । गैँडा मृत भेटिएको १० दिनभित्रै प्रहरीले पक्राउ गरेका ती तस्करलाई सार्वजनिक गरेको हो । मङ्सिर ९ गते पूर्वी चितवनको राप्ती–३ बाट छ जना र ११ गते सोही नगरपालिकाको भण्डाराबाट दुई जनालाई पक्राउ गरिएको थियो ।

सार्वजनिक गरिएकामा मङ्सिर ९ गते राप्ती नगरपालिका वडा नम्बर ६ बाट पक्राउ परेका मुख्य योजनाकार मकवानपुरको हेटौँडा–३ का ३३ वर्षीय रमेश खाती, गैँडा मार्ने सिकारी चितवनको राप्ती नगरपालिका–११ ठाकलटारका ४२ पासाङ भन्ने आइतेसिंह मोक्तान, खाग बिक्री वितरणमा सहयोग गर्ने मकवानपुरको राक्सिराङ गाउँपालिका–९ घर भई हेटौँडा–४ बस्ने ४४ वर्षीय शमशेर थिङ, मङ्सिर ९ गते लोथरबाट पक्राउ परेका मुख्य योजनाकार तथा खाग बिक्री वितरणमा संलग्न मकवानपुरको राक्सिराङ–६, नयाँबस्तीका ५६ वर्षीय थिङ बाजे भन्ने सीताराम थिङ, बिक्री वितरणमा संलग्न रोल्पाको सुनछहारी गाउँपालिका घर भई भरतपुर–११ लामाटोलमा बस्दै आएका २८ वर्षीय अर्जुन रोका र घले भन्ने गोरखाको बारपाक घरभई भरतपुर–११ लामाटोल बस्ने ७७ वर्षीय धनबहादुर गरुङ रहेका छन् ।

त्यसैगरी राप्ती नगरपालिकाबाट मङ्सिर ११ गते पक्राउ परेका चितवनको माडी नगरपालिका–९, बाँदरझुलाका गैँडा मार्ने सिकारी ४० वर्षका उनबहादुर स्याङ्तान र मकवानपुरको मनहरी–७ ज्यामिरे घर भई माडी–९, बाँदरझुला बस्ने ५६ वर्षीय स्याङ्बो भन्ने ईन्द्रबहादुर तामाङ रहेका छन् ।

पक्राउ परेकाहरुको साथबाट दुई थान गैंडाको खाग, भरुवा बन्दुक एक थान, बिड नभएको बञ्चरो एक थान, कालो झोला, चक्कु, भरुवा बन्दुकमा प्रयोग हुने फलामका टुक्रा, गुलेली, टर्च लाईट, ढिक्ची, पटका बारुद, दुई थान मोटरसाइकल लगायतका सामग्री बरामद गरिएको छ ।

घटनाको अध्ययन गरी सुझाव पेस गर्न मङ्सिर १ गते वन तथा वातावरण मन्त्रालयबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशकको संयोजत्वमा नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग र कानुन अधिकृतसहितको पाँच सदस्यीय छानबिन टोली गठन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *