हामीलाई मिसन ८४ को सपना बेकार छ

डा. प्रकाशचन्द्र लोहनी ।
हाल ठूला दलका ठूला नेताहरुले अन्य दलहरुले उठाएका प्रश्नहरुबारे केहीदिनमै जवाफ दिने खबर पढियो ।यस सन्दर्भमा निम्न प्रश्नहरुको जवाफ दिन म सबै ठूला नेताहरुलाई अनुरोध गर्दछु ।

१)  नेपाललाई एसियाको सवैभन्दा गरिव राष्ट्र बनाउन तपाईंहरुको योगदानको कसरी मुल्यांकन गर्ने ?

२) नेपालमा भ्रष्टाचार र लुटको राजनैतिक संस्कृतिको संस्थाकरण गर्न तपाईंहरुले पुर्याउनु भएको ‘महान’ योगदानको कसरी मुल्यांकन गर्ने ?

३) देशका अधिकांश युवाहरुलाई बाध्यात्मक स्थिति श्रृजना गरेर विदेश पठाइ नेपालीहरु भनेको अरुको लागि रगत/पसिना बगाउने मात्र हुन भन्ने मान्यता लाई संस्थाकरण गर्ने तपाईं तीन ठुला दलहरुकोको सामन्ती नीतिलाई कसरी व्याख्या गर्ने ?

४) नेपालमा सरकारी पद लिलाममा बेचेर देश र जनता लुट्ने तपाईंहरुको अघोषित ‘अग्रगामी’संस्कार बाट अब हामी कति पीडित हुने ?

५) जहानिया शासनमा जस्तो तपाईंहरुले पालेका भुरे–टाकुरे सामान्तहरुको स्वार्थको लागि शासनका महत्वपूर्ण पदहरु भागवन्डा गरेर प्रतिगमनको अखडा बनाउने तपाईंहरु जस्ता व्यवहारमा प्रतिगमनकारी विरुद्ध अब किन विद्रोह नगर्ने ?

६) गरिव किसानका नाममा तपाईहरुका दलका लाउकेहरुले ७० प्रतिशत भन्दा बढी अनुदान लुटेका/ हातपारेका छन् । तैपनि हामी किसानको पक्षमा छम भन्न तपाईंहरुलाई लाज लाग्न पर्ने होइन र ?

७) खुलेआम ज्यानमारा हरुलाइ छोड्ने तपाईंहरुको मिलिमतो नै प्रजातन्त्र र कानुनी राज्य हो ? देशमा कानुन छ तर कानुनी व्यवस्था छैन । यसको लागि तपाईंहरुलाई अपराधी किन नभन्ने ?

८) नेपालीहरुलाई विकासको सपना बाँड्ने तर यहाँ भएका उद्योगहरु विनास गर्दै देशको बैंकहरुमा रहेको ठूलो धनराशी सीमित व्यापारीहरुको कव्जामा राखेर साना उद्योगी, किसानहरुको शोषण गर्ने तपाईंहरुको नीति जनतामारा र सर्वहारा विरुद्धको चरम शोषणको औचित्य के हो ? जवाफ छ ?

९)  नेपाललाई  उत्पादन र निर्यातमुखि बनाउनुको सट्टा उपभोग र आयातमुखि बनाउने, आफ्ना आसेपासे र परिवारलाई धनाढ्य बनाउने तपाईंहरुको आर्थिक मोडलको के कुनै दर्शन छ ? कुनै सिद्धान्त छ ? विचार छ ?

१०)  देशको राष्ट्रियता भ्रष्टहरुको जमातले सुरक्षित गर्न सक्दैन । जनताको मनोवल र विश्वास लुटाहा संस्कृतिलाई आफ्नो आदर्श सिद्धान्त सम्झने लुटाहा जमातले उठाउन सक्दैन । अनुशासनहिनता आर्थिक अराजकता, कानुनी अराजकता तथा देशका युवाहरुलाई देश बाहिर जान बाध्य पार्ने हत्कडीमा देशलाई बाँधेर कति समय राख्ने ? हामी जवाफ सुन्न चाहन्छौं ।

११) तपाईंहरुको दलीय शोषणको हत्कडी र दासहरुको कुकृत्यबाट देश बचाउन अब आवाज उठाउनु राष्ट्रियता र राष्ट्रवाद होइन र ? वास्तवमा अपराधिक मनस्थितिलाई राजनीति सम्झने संस्कारमा देशप्रतिको इमान्दारी हराउन थालेको छ । यसको विरुद्ध संघर्षको विकल्प छैन भन्ने आवाज उठाउनु के गलत हो र ?

१२) हामीलाई अब मिसन ८४ को सपना बेकार छ । वर्तमान अर्थात् ०८०/०८१ मा कसरी बाँच्ने र विदेशीसामु दास संस्कृति बोकेका तपाईंहरु जस्ता ठालुहरुबाट देश कसरी बचाउने भन्ने प्रश्न मुख्य भएको छ । देश लुटिराख्ने सपनाको लागि तपाईंहरुलाई मिसन ८४ आवश्यक लागेको होला तर आम जनतालाई ०८०/०८१ महत्वपूर्ण भएको छ । हिजोको नारा र भोलिको सपनाको जाल सबै बेकार छन् । आजको यथार्थको उपेक्षा गरे पनि जनता चुप लाग्छन् र आफ्नो भ्रष्टाचार र शोषणको रजाइँ कायम रहन्छ भन्ने तपाईंहरुको कल्पना टेवलबाट खसेको काँचको गिलास जस्तो चकनाचुर हुनबाट कसैले रोक्न सक्ने छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *