काठमाडौं । गत बिहीबार अमेरिका जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रले जनतामा निराशा र क्रोध बढाएको बताएका थिए । उनले जनताको एकमात्र आशा राजसंस्था भएको बताए । दसैंको टीकाको दिन शीतल निवास र निर्मल निवासको भिडको तुलना गर्दै उनले निर्मल निवासको लामले गणतन्त्रप्रतिको जनताको निराशाको वास्तविकतालाई देखाएको बताए । उनले भने, ‘२५० वर्षको इतिहास र गौरवशाली परम्परालाई राजमुकुट यहाँ छ, राजदण्ड यहाँ छ भनेर जिम्मा लगाएर देश नछोडी देशको बिग्रँदो अवस्थाप्रति चिन्ता गर्ने राजालाई गाली गर्नुको सट्टा गणतन्त्रका संवाहक भन्ने दलहरूले राम्रो गरेर देखाउनुपर्यो । अब पनि राजालाई गाली गरेर सत्ता टिकाउन र जनतालाई मुर्ख बनाउन सकिन्छ भनेर नसोचे हुन्छ ।’
त्यस्तै शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने बताए । उनले नयाँ दलका रुपमा २१ जना सांसदहरु सदनमा आउँदा समेत कुनै पनि राजनीतिक दलहरुले जनताको लागि काम नगरेको भन्दै आउने चुनावमा कुनैपनि दललाई एक सिट पनि जित्न नदिने दाबी गरे । उनले भने, ‘अब ठूलो स्वर गर्ने, दबाब दिने होइन, २०८४ मा एकैपटक बाइबाइ गर्ने, एउटा सिट पनि नदिने । एक सिट पनि नदिने हो ।’
राप्रपा अध्यक्ष लिङ्देन र रास्वपाका सभापति लामिछानेको जस्तैगरी ठूला दलको राजावादीहरुले पनि आलोचना गर्दै आएका छन् । यसरी निरन्तर आलोचना भएपछि पुराना ठूला दल एकठाउँमा उभिएका छन् । विगतमा एकअर्कालाई गालीगलौज गर्ने पुराना दल कांग्रेसको चियापान कार्यक्रममा भने एकस्वरमा सुनिएका हुन् । कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताले अराजकता सिर्जना गर्न पुराना दललाई गालीगलौज गरिएको भन्दै यसको एकमुष्ट जवाफ दिने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अराजकता सृष्टि गर्ने उद्देश्यका साथ राजनीतिक दलहरुमाथि प्रश्न उठाउने गरिएको उल्लेख गर्दै सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएर त्यस्ता प्रवृत्तिलाई गतिलो जवाफ दिने तयारी भइरहेको बताए । त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि राजनीतिक दल र राज्यका संस्थाप्रति आमनागरिकको विश्वास नघटेको र आफूहरुमाथि प्रश्न उठाउने कोशिस गरिएको बताएका छन् । एमाले अध्यक्ष ओलीले भने, ‘हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोशिस गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढङ्गले दिइनेछ ।’
त्यसैगरी कांग्रेस सभापति देउवाले भने, ‘दलहरुप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु । राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन ।’ उनीहरुले यस विषयको जवाफ यथासमयमा यथोचित ढङ्गले दिइने बताएका छन् । ललिता निवास, सुन काण्ड, भुटानी शरणार्थीलगायतका काण्डमा ठूला दलहरु मिलेको भन्ने आरोप छ । यी काण्डलाई लिएर ठूला दलका नेताबीच आरोप प्रत्यारोप पनि चल्ने गरेका छन् । तर निरन्तर रुपमा आरोप लाग्न थालेपछि भने ठूला दल एकठाउँमा उभिएका छन् । आफूहरुमाथि यस्तो आरोप लाग्दा एक ठाउँमा उभिने दलहरुले मुलुकको समृद्धिका लागि पनि एक ठाउँमा उभिएर एउटा सन्देश दिँदा कतिराम्रो हुने थियो । त्यसतर्फ पनि सोच्ने हो कि ?