नेपालको नाममा आधा दर्जनभन्दा बढी विश्व कीर्तिमान

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदमा नेपालको निरासाजनक प्रदर्शन जारी छ । एसियाडमा सहभागिता जनाएको अन्य खेलमा सोचेअनुरूप प्रदर्शन गर्न नसकेको अवस्थामा नेपाली क्रिकेट टोलीले भने नेपाली समर्थकलाई खुशियालीको माहोल ल्याएको छ । बुधबारबाट शुरु भएको पुरुष क्रिकेट अन्तर्गतको पहिलो खेलमा मंगोलियासँग खेलेको नेपालले टी-२० क्रिकेटको लगभग सबै कीर्तिमान आफ्नो नाममा लेखाउँदै विश्वकै खेल प्रेमीको ध्यान आफूतिर  खिचेको छ ।

पहिलोपटक टी-२० आई खेल खेलेको मंगोलियाविरुद्ध आधि दर्जन बढी विश्व कीर्तिमानी आफ्नो नाममा लेखाउँदै नेपाल विश्वमै हेडलाइनको माध्यम बन्यो । विश्व कीर्तिमानको वर्षा गराएको नेपाल र नेपाली खेलाडी अहिले छिमेकी राष्ट्र भारतसँगै विश्वमा समाचारका पात्र बनेका छन् ।

नेपालले बनाएको दुर्लभ विश्व कीर्तिमान

. सर्वाधिक छिटो सतक- कुशल मल्ल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर तथा बायाँ हाते ब्याट्सम्यान कुशल मल्लले मंगोलियाविरुद्ध दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । तेस्रो नम्बरमा ब्याटिङ गर्न उत्रिएका कुशल विश्व क्रिकेटमै सबैभन्दा छिटो सतक पूरा गर्ने खेलाडी बनेका हुन् । उनले ३४ बलमा सतक पूरा गरेका हुन् । त्यसक्रममा उनले ६ चौका र ९ छक्का प्रहार गरे । यसअघि दक्षिण अफ्रिकाका डेभिड मिल्नरले बंगलादेश र भारतका रोहित शर्माले श्रीलंकाविरुद्ध समान ३५-३५ बलमा सतक पूरा गरेका थिए ।

यस्तै १ सय ३७ रन बनाएका कुशल नेपालको लागि कुनैपनि खेलको एकै इनिंसमा सर्वाधिक धेरै रन बनाउने खेलाडी बनेका छन् । उनले ५० बलमा ८ चौका र १२ छक्का प्रहार गरेका हुन् । यसअघि टी-२० आईमा दीपेन्द्र सिंह एरीले घरेलु मैदानमा मलेसियाविरुद्ध १ सय १० रन बनाएका थिए भने एकदिवसीयमा रोहित पौडेलले पीएनजीविरुद्ध १ सय २६ रन बनाएका थिए । कुशल नेपालको लागि कुनैपनि खेलमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीपनि बनेका छन् ।

२. सर्वाधिक छिटो अर्धसतक- दीपेन्द्र सिंह एरी

दिपेन्द्रले ९ बलमा ८ छक्काको मद्दतमा ५० रन बनाएका हुन् । यो कुनैपनि ब्याट्सम्यानले बनाएको सबैभन्दा छिटो अर्धसतक हो । यसअघि भारतका युवराज सिंहले सन् २००७ को टी-२० विश्वकपमा इंग्ल्याण्डविरुद्ध १२ बलमा अर्धसतक बनाएका थिए । दीपेन्द्र नेपालको लागि टी-२० आईमा सर्वाधिक धेरै रन बनाउने खेलाडी हुन् । उनले कुल १ हजार १ सय ५५ रन बनाएका छन् । यस्तै दीपेन्द्र नेपालको लागि सर्वाधिक अर्धसतक बनाउने खेलाडीपनि बनेका छन् । उनले हालसम्म ६ टी-२० आई अर्धसतक प्रहार गरेका छन् ।

३. सबैभन्दा ठूलो योगफल

नेपालले मंगोलियाविरुद्ध बनाएको ३ सय १४ रन टी-२० क्रिकेटको एकै इनिंसमा बनेको सबैभन्दा धेरै रन हो । त्यसक्रममा नेपालले २६ छक्का र १४ छक्का हिर्काएको थियो । यसअघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध २ सय ७८ रन बनाएको थियो ।

४. सबैभन्दा फराकिलो जीत

नेपाली टोलीले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेको थियो । यो टी-२० आई क्रिकेटमा सबैभन्दा फराकिलो जीत हो । यसअघि चेक रिपब्लिकले टर्कीलाई २ सय ५७ रनले पराजीत गरेको थियो ।

५. एकै इनिंसमा सबैभन्दा धेरै छक्का

नेपालले मंगोलियाविरुद्ध २६ छक्का प्रहार गरेको थियो । यो कुनैपनि टोलीले एउटै इनिंसमा प्रहार गरेको सर्वाधिक छक्का हो । यसअघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध २२ छक्का प्रहार गरेको थियो ।

६. उत्कृष्ट रन रेट

नेपालको खेलमा १५.७ रनरेट रहेको थियो । प्रतिओभर नेपालले १५.७ को औसातमा रन बनाएको थियो । यसअघि अफगानिस्तान र चेक रिपब्लिकको नाममा १३.९ को रनरेट रहेको थियो ।

७. तेस्रो विकेटको लागि सर्वाधिक साझेदारी

नेपालका कप्तान रोहित पौडेल र कुशल मल्लले तेस्रो विकेटको लागि १ सय ९३ रनको साझेदारी गरेका थिए । जुन टी-२० आई किकेटमा विश्व कीर्तिमान हो । यसअघि न्युजिल्यान्डका ग्लेन फिलिप्स र डेभन कन्वेले वेस्ट इन्डिजविरुद्ध तेस्रो विकेटको लागि १ सय ८४ रनको साझेदारी गरेका थिए ।

८. तेस्रो नम्बरमा सर्वाधिक रन

कुशल टी-२० आईको तेस्रो नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । यसअघि न्युजिल्याण्डका ब्राण्डम म्याकलमले बंगलादेशविरुद्ध तेस्रो नम्बरमा ब्याटिङ गर्दै १ सय २२ रन बनाएका थिए । यस्तै कुशल टी-२० आईको एकै इनिंसमा सर्वाधिक रन बनाउनेको सुचीमा पाँचौ स्थानमा रहेका छन् ।

९. ५ सय बढीको स्ट्राइक रेटमा ब्याटिङ गर्ने पहिलो खेलाडी

दीपेन्द्र सिंह एरी कुनैपनि खेलमा ५ सय बढीको स्ट्राइक रेटमा ब्याटिङ गर्ने पहिलो खेलाडी बनेका छन् । उनले मंगोलियाविरुद्ध ५ सय २० को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए ।  यसअघि वेस्ट इन्डिजका ड्वायन स्मिथले बंगलादेशविरुद्ध ४ सय १४ दसमलब २८ को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *