मेची भन्सारबाट दश अर्ब ७० करोड बढीको अलैँची निर्यात

झापा ।  झापाकाे मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांकनुसार उक्त अवधिमा १० अर्ब ७० करोड सात लाख १८ हजार रुपैयाँबराबरको अलैँची निर्यात भएको हो ।

चालु आवको नौ महिनामा पाँच हजार २९५.२५० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए ।

अघिल्लो आव २०८१/८२ को सोही अवधिमा छ अर्ब २५ करोड १२ लाख ६१ हजार रुपैयाँबराबरको अलैँची निर्यात भएको उनले बताए । कार्यालयको तथ्यांकअनुसार चालु आवको नौ महिनामा चियाको निर्यात २६.७३ प्रतिशतले घटेको छ । उक्त अवधिमा दुई अर्ब ५८ करोड १९ लाख ८५ हजार मूल्यबराबरको चिया निर्यात भएको छ ।

अघिल्लो आव २०८१/८२ को सोही अवधिमा तीन अर्ब २७ करोड २० लाख ७२ हजार रुपैयाँबराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए ।

कार्यालयका अनुसार निर्यात हुने मुख्य वस्तुमध्ये भेनियर सिट ३०.८८ प्रतिशत, छुर्पी ३०.३५ प्रतिशत वृद्धि भएको छ भने प्लाइउड ३७.७३ प्रतिशत, अम्रिसो ३७.३३ प्रतिशत, फलामे पाता एक हजार ७४७.८१ प्रतिशत र मोलासिस ३६१.३५ प्रतिशत र सिमेन्ट क्लिंकरको निर्यात शतप्रतिशतले घटेको छ ।

मेची भन्साबाट चालु आव २०८२/८३ को चैत मसान्तसम्ममा १९ अर्ब ४३ करोड ३५ लाख ३२ हजार रुपैयाँबराबरको मालवस्तु निर्यात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *