काठमाडौं । २०७५ साल फागुनमा चर्चित लोकदोहोरी गायक पशुपति शर्माले पछिल्लो राजनीतिक स्थितिलाई व्यंग्य गर्दै लोकदोहोरी ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीत ल्याए । देशमा चलिरहेको भ्रष्टाचार, हत्या, हिंसा र बलात्कार जस्ता विषयलाई पशुपतिले गीतमा निकै मार्मिक ढंगले समेटेका थिए । सामाजिक संंजालमा आमदर्शक श्रोताले गीतले देशको वास्तविकता उतारेको भन्दै सर्जकको प्रशंसा गरेका थिए । देशमा दुई तिहाइको नेकपाको सरकार थियो । तर उनीहरुलाई गीतले गिज्याएको जस्तो लाग्यो र योजनाबद्ध नेकपालाई खुइल्याउन ल्याएको भन्दै पशुपतिका कार्यक्रम बहिष्कार गर्न नेकपाको भातृ संगठनले आह्वान नै गर्यो । युवा संघले विज्ञप्ति जारी गर्दै भन्यो, ‘समयमै आफ्ना ज्ञात–अज्ञात गम्भीर त्रुटि सच्याउन अनुरोध गर्छौं, अन्यथा यो असह्य प्रस्तुतिका कारण एक चर्चित कलाकारको करिअरमा असर पर्न सक्ने कदमका लागि हामी बाध्य हुनु नपरोस्।’ सरकारको नेतृत्व गरेको पार्टीको भातृ संगठनले धम्कीपूर्ण विज्ञप्ति जारी गरेपछि पशुपति शर्माले गीत आफ्नो यूट्यूबबाट हटाए र सामाजिक संजालमा लेखे, ‘मेरो नियत कसैको चित्त दुखाउने नभई विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो । गीतका केही शब्दलाई लिएर असन्तुष्टि आएकाले पछि शब्द परिमार्जन गरेर पुनः गीत सार्वजनिक गर्ने वाचा गर्छु ।’ उनले आफ्नो यूट्यूबबाट हटाएपनि हजारौंले त्यो गीत डाउनलोड गरी समाजिक संजालमा अपलोड गरेका थिए ।
युट्युबबाट गीत हटाइएपछि स्रष्टाको ‘अभिव्यक्ति स्वतन्त्रताको हनन’ भएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भयो । पशुपति शर्माको यो गीतको बहस समाजिक संजालदेखि सडक र सदनसम्म पुग्यो । नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेरै नेकपाको युवा संघको कार्य गलत भएको बतायो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘दुई तिहाईको सरकार एउटा गीतले थरर कामेको’ बताए । कांग्रेस सांसद अमरेशकुमार सिंहले त संसदमा फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ सम्मानस्वरूप गायकलाई पुरस्कार दिने घोषणा नै गरे ।
प्रधानमन्त्री केपी शर्मा ओली थिए । प्रधानमन्त्री ओलीले पशुपति शर्माको गीत जनताले मन नपराएको बताए । सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले गायक शर्माको नाम नलिइ भने, ‘एउटाले भुलचुकले एउटा गीत बनायो अरे, लुट लुट केही काम लाग्दैन, लुटेर खा भाइ लुटेर खा । जनताले मन पराएनन् तिम्रो गीत भनेपछि युट्युबटबाट हटाए रे ।’
२०७८ फागुनमा अर्का चर्चिक गायक प्रकाश सपुतले ‘पीर’ बोलको गीत ल्याए । गीतको भिडियोमा प्रयोग गरिएको दृष्यप्रति आपत्ति जनाउँदै नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले आपत्ति जनाए । उनीहरुले गीत हटाउन र माफी माग्न दबाब दिए । उनीहरुले सपुतको गीतले गलत सन्देश दिन खोजेको र माओवादी जनयुद्धका उपलब्धीलाई विर्सेर बदनाम गराउन खोजेको दावी गरेका थिए । तर आममानिसले भने सपुतको गीतले बास्तविकता गीतमार्फत उतारेको भन्दै प्रशसा गरेका थिए । गीतमा माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले ‘देह’ व्यापारमा लाग्न बाध्य भएको चित्रण गरेका थिए । हुन पनि हो अहिले माओवादी कतिपय लडाकूको अवस्था पनि त्यही नै छ । पशुपतिले गीत ल्याउँदा नेकपाको सरकार थियो । तर पछि माओवादी र एमालेको एकता भंग भयो र दुई पार्टी अलग भए । प्रकाश सपुतको ‘पीर’ आउँदा कांग्रेस नेतृत्वमा सरकार थियो र माओवादी पनि सरकारमा थियो । यतिबेलासम्म पशुपतिले गीत ल्याउँदा पनि मुलुकमा बेथिति नै थियो र गीतले प्रशंसा पायो र त्यो गीत अहिले पनि सान्दर्भिक छ ।
अहिले माओवादीको नेतृत्वमा सरकार छ । पशुपतिको गीतमा भनेजस्तै अहिले भ्रष्टाचारका काण्डैकाण्ड आएका छन् । नक्कली भुटानी शरणार्थी काण्ड आयो । यो काण्डमा गृहमन्त्री, उपप्रधानमन्त्री भइसकेका अनि सरकारको बहालवाला सचिवसमेत जेल पुगेका छन् । ललिता निवास काण्डको मुद्दा अदालतमा दर्ता भएर सुनुवाइ भइरहेको छ । त्यस्तै विमानस्थलबाट ६० किलो सुन तस्करी सुन बरामद काण्ड चलिरहेको छ। नक्कली शरणार्थी काण्ड, ललिता निवास काण्ड र ६० किलो सुनकाण्डमा सरकारले आफ्नालाई जोगाउन लागेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनमाथि आरोप लगाइरहेको छ । ललिता निवास काण्डमा पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई सरकारी साक्षीको रुपमा मात्र राखेर सरकारले उन्मुक्ति दिएको एमालेको आरोप छ । अझ एमालेले त सुन तस्करी सरकारले नै गरेको भन्दै उच्चस्तरीय समिति गठनको माग गर्दै एक महिनासम्म सदन नै अवरुद्ध गर्यो । तर अहिले असोज ५ गते सुनकाण्डको छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने दलहरुबीच सहमति भएर सदन संचालन भइरहेको छ ।
फेरि सरकारले अब ओली नेतृत्वको सरकारको पालामा भएको गिरीबन्धु टी स्टेट जग्गा प्रकरण, यति, ओम्नीलगायतका काण्डको फाइल खोल्ने बताएको छ । प्रधानमन्त्री प्रचण्डले नै यी फाइल खोल्ने बताइरहेका छन् ।तर त्यसको जवाफ दिँदै एमाले अध्यक्ष ओलीले वाइडबडी, गिरिबन्धु टि स्टेटलगायतको छानबिन गरे उनीहरु नै जेल जाने भएकाले एमालेको बदनाम गर्नमात्र यस्ता कुरा उचालिरहेको दाबी गर्दै आएका छन् । उनको भनाई छ, ‘यति होल्डिङको छानबिन गर न त भन्यौ गर्दैनन् । वाइडबडीको छानबिन गर आफैं जेल जाऊ । अस्तिसम्म ललिता निवास भन्दैथे, अहिले कस्तो भागाभाग छ । एउटा यता ढोकाबाट कुदेको छ, अर्को उताबाट कुदेको छ । यिनीहरुका छानबिन नदेखिएको हो र ? बिना कानून २०५३ सालमा १९ बिघा जमिन बेच्न दिएको थियो त्यसको छानबिन गर । २०५८/६० मा बिनाकानून ५१ बिघा जमिन बेच्न दिएको थियो छानबिन गर र आफैं जेल जाऊ । हामीले कानून बनाइदिएका हौं, कानूनको आधारमा जग्गा सट्टापट्टा गरेरमात्र बेच्न पाउने भनेको हो । गैरकानूनी ढंगले कमिसन खाएर जग्गा बेच्न दिएको होइन, कानून बनाइदिएको हो ।’
भ्रष्टाचार काण्डलाई लिएर आरोप प्रत्यारोप चलिरहँदा आफ्ना जोगाउन मिलिभगत भएको भन्दै आरोप पनि संसदमै रहेका अरु दलबाट लाग्दै आएको छ । एकजना सर्जकले एउटा गीत ल्याउँदा त यत्रो विरोध गर्ने दलहरुले यसरी साँच्चै भ्रष्टाचारका काण्ड आउँदा त्यसको छानबिन निष्कर्षमा पुग्नेमा भने नेपाली जनताले विश्वास गरेका छैनन् अनि कुनै दलले मलाई ढुक्कसाथ छानबिन गर भनेको पनि पत्याएका छैनन् । त्यसैले जनताले गरेको यो अविश्वासलाई विश्वासमा बदल्न यसपटक दलहरुले सक्लान् त ?