काठमाडौं । १६ औं संस्करणको एसीसी एसिया कप क्रिकेट आजबाट शुरु हुँदैछ । आज हुने प्रतियोगिताको उद्धाटन खेलमा आयोजक पाकिस्तान र नेपाल भिड्दैछन् । मुल्तान क्रिकेट स्टेडियममा हुने खेल दिउँसो ३:१५ बजे शुरु हुनेछ ।
नेपालले प्रतियोगितामा पहिलोपटक सहभागिता जनाउन लागेको छ । गत वैशाखमा भएको एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले पहिलोपटक एसिया कपमा स्थान बनाएको थियो । उक्त फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले पराजीत गरेको थियो । यसअघि नेपालले विश्वकप लिग-२ को पछिल्लो १२ खेलमा ११ खेल जित्दै विश्व क्रिकेटमा आफुलाई बलियो टोलीको रुपमा चिनाएको थियो ।
नेपालले कुनैपनि फर्मेटमा पाकिस्तानसँग पहिलोपटक खेल्न लागेको हो । यस्तै नेपालले एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टोलीसँगपनि पहिलोपटक खेल्न लागेको हो । हाल पाकिस्तान एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको छ भने नेपाल १५ औं स्थानमा रहेको छ । नेपालले सन् २०१५ मा अनौपचारिक अभ्यास खेलमा पाकिस्तानसँग खेलेको थियो । उक्त खेलमा पराजीत भएपनि नेपालले उत्कृष्ट प्रदर्शन गरको थियो ।
- यो पनि पढ्नुहोस – एसिया कप : विपक्षीलाई दबाब दिन सक्ने नेपालका ५ खेलाडी
एसिया कप : नेपालको लागि चुनौतीसँगै अवसरपनि
एसिया कपमा हामी एकदमै धेरै राम्रो गर्नेछौँः सन्दीप लामिछाने
त्यसैले प्रतियोगितामा डेब्यु गर्न लागेको नेपाल आजको खेलमा दबाबबिना खेल्नेछ । नेपाललाई गुमाउनुपर्ने केहि नभएको हुनाले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानलाई घरेलु दर्शकमाझ स्तब्ध बनाउने सोचमा रहेको छ । नेपालले हालसम्म टेस्ट राष्ट्रसँग तीन खेल खेलेको छ । आयरल्याण्ड, जिम्बाब्वे र वेस्ट इन्डिजसँग भएको उक्त तीनवटै खेलमा नेपाल पराजीत भएको थियो ।
यता पाकिस्तान आजको खेलमा नेपाललाई हराउँदै प्रतियोगितामा सुखद शुरुवात गर्ने लक्ष्यमा रहेको छ । हालै घरेलु मैदानमा अफगानिस्तानविरुद्ध भएको तीन खेलको एकदिवसीय सिरिजमा क्लिन स्विप गरेको पाकिस्तान उच्च लयमा रहेको छ । आजको खेलमा पनि सोहि लयलाई निरन्तरता दिँदै सहज जीतको खोजीमा पाकिस्तान रहनेछ ।
प्लेयर टू वाच
बाबर आजम, पाकिस्तान
नेपाली खेलाडीको लागि बाबर अजाम टाउको दुखाइ बन्न सक्छन् । पछिल्लो समयका एक उत्कृष्ट ब्याट्सम्यान बाबर उच्च लयमा रहेका छन् । हालै अफगानिस्तानविरुद्ध भएको सिरिजको पहिलो खेलमा डक आउट भएका बाबरले दोस्रो खेलमा ५३ र तेस्रो खेलमा ६० रनको इनिंस खेलेका थिए । एकदिवसीयमा १ सय ३ खेल खेलेका बाबरले १८ साताक र २८ अर्धसतकसहित ५ हजार २ सय २ रन बनाएका छन् ।
सन्दीप लामिछाने, नेपाल
नेपाललाई एसिया कपमा पुर्याउन सन्दीप लामिछानेको योगदान महत्त्वपूर्ण रहेको थियो । हालसम्म उनले एकदिवसीयमा ४९ खेल खेल्दै १ सय ११ विकेट लिइसकेका छन् । उनी एकदिवसीयमा सबैभन्दा छिटो(४२ खेल) एक सय विकेट लिने खेलाडी हुन् ।
पाकिस्तानको प्लेइङ ११ :- फखर जमान, इमाम-उल-हाक, बाबर अजाम(कप्तान), मोहम्मद रिजवान(विकेटकिपर), सलमान अली अघा, इफ्तिखर अहमद, शदाब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह, हरिस राउफ
नेपालको सम्भावित प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), भिम शार्की, रोहित पौडेल(कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह एरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी