एसिया कप : विपक्षीलाई दबाब दिन सक्ने नेपालका ५ खेलाडी

प्रज्जवल थापा, काठमाडौं । १६ औं संस्करणको एसीसी एसिया कप आगामी बुधबारबाट पाकिस्तान र श्रीलंकामा शुरु हुँदैछ । भदौ १३ देखि ३१ सम्म चल्ने प्रतियोगितामा नेपालले पहिलोपटक सहभागिता जनाउँदैछ । प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’मा आयोजक पाकिस्तानसँगै भारत र नेपाल रहेका छन् भने समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान र बंगलादेश छन् । भारतले पाकिस्तान जान अस्वीकार गरेपछि प्रतियोगिता पाकिस्तान र श्रीलंकामा गर्न लागिएको हो । भारतले आफ्नो सबै खेल श्रीलंकामा खेल्नेछ ।

भदौ १३ गते हुने प्रतियोगिताको उद्धाटन खेलमा पाकिस्तान र नेपाल भिड्नेछन् । उद्धाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा हुनेछ । यस्तै नेपालले दोस्रो खेल श्रीलंकामा भारतसँग भदौ १८ मा खेल्नेछ ।

नेपाल १७ सदस्यीय टोलीसहित गत मंगलबार पाकिस्तान पुगेको थियो । नेपाली टोलीमा कप्तान रोहित पौडेलसँगै आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भिम शार्की, कुशल मल्ल, दीपेन्द्र सिंह एरी, सन्दीप लामिछाने, करण केसी, गुलसन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिष जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल रहेका छन् ।

प्लेयर टु वाच

१. कुशल भुर्तेल

नेपाली क्रिकेट टोलीका पहिलो रोजाइका ओपनर कुशल भुर्तेलमाथि टोलीले धेरै विश्वास गर्नेछ । हालसम्म ४४ एकदिवसीय खेल खेलिसकेका कुशलले कुल ९ सय ८६ रन बनाएका छन् । एकदिवसीयमा ६ अर्धसतक र एक सतक बनाएका उनको व्यक्तिगत उच्च स्कोर १ सय १५ रन रहेको छ । भखरै श्रीलंकामा सम्पन एसीसी इमार्जिंङ मेन्स टिम्स एसिया कपमा सोचेअनुरुप शुरुवात गर्न नसकेका कुशलले अन्तिम खेलमा युएईविरुद्ध ७१ रन बनाएका थिए भने ४० रन खर्चिदै ६ विकेट लिएका थिए । त्यसैले उनी ब्याटिङ र फिल्डिंङमा मात्र नभई पार्ट टाइम बलरको रुपमा टोलीलाई योगदान दिन सक्ने खेलाडी हुन् ।

यो पनि पढ्नुहोस –एसिया कप : नेपालको लागि चुनौतीसँगै अवसरपनि

२. रोहित कुमार पौडेल

रोहित प्रतियोगितामा सहभागी टोलीमध्येका सबैभन्दा कान्छा कप्तान हुन् । २० वर्षीय रोहित मैदानमा सटिक योजना बनाउन र निर्णय लिन माहिर छ । ५२ एकदिवसीय खेल खेलिसकेका रोहितले १ हजार ४ सय ६९ रन बनाएका छन् । उनको व्यक्तिगत उच्च स्कोर १ सय २६ रन रहेको छ । उनले एकदिवसीयमा ८ अर्धसतक र एक सतक बनाएका छन् । उनी एकदिवसीयमा नेपालको लागि सर्वाधिक रन र व्यक्तिगत उच्च स्कोर बनाउने खेलाडी हुन् । उनले इमार्जिंङ कपमा भारत ‘ए’ विरुद्ध ६५ रनको अर्धसतकीय इनिंस खेलेका थिए । रोहित एसिया कपमापनि सोहि लयलाई निरन्तरता दिने लक्ष्यमा छन् ।

३. गुलसन झा

गुलसन झा पछिल्लो समय नेपाली टोलीका मुख्य अलराउण्डर रहँदै आएका छन् । १७ वर्षीय बायाँ हाते ब्याट्सम्यान गुलसन एसिया कपको सबैभन्दा कान्छा खेलाडी हुन् । उनले हालसम्म २२ एकदिवसीय खेल खेल्दै ३४.७६ को औसातमा ४ सय ५२ रन बनाएका छन् । त्यसक्रममा उनले तीन अर्धसतक बनाएका छन् । नेपाली टोलीमा भिम शार्कीसँगै उनको सबैभन्दा राम्रो औसात रहेको छ । मध्यक्रमदेखि अन्त्यसम्म जुनसुकै स्थानमा ब्याटिङ गर्न सक्ने पावर हिटर गुल्सन टोलीको मुख्य अलराउण्डर रहनेछन् । बलिंङ भने दायाँ हातले गर्ने तीव्र गतिका बलर गुलसनले हालसम्म एकदिवसीयमा २१ विकेट लिएका छन् ।

४. सन्दीप लामिछाने

नेपाली क्रिकेटका महत्त्वपूर्ण खेलाडी हुन् सन्दीप लामीछाने । नेपाललाई एसिया कपमा पुर्याउन उनको योगदान महत्त्वपूर्ण रहेको थियो । हालसम्म उनले एकदिवसीयमा ४९ खेल खेल्दै १ सय ११ विकेट लिइसकेका छन् । उनी एकदिवसीयमा सबैभन्दा छिटो(४२ खेल) एक सय विकेट लिने खेलाडी हुन् । एसिया कपमा सहभागिता जनाउन सन्दीप आज(सोमबार) पाकिस्तान प्रस्थान गर्दैछन् । हाल नाबालिग बलात्कारको आरोप खेपिरहेका सन्दीपको आइतबार पेशी रहेको कारण गत मंगलबार टोलीसँग पाकिस्तान जान पाएका थिएनन् ।

५. सोमपाल कमी

तीव्र गतिका बलर सोमपाल कामीमाथि एसिया कपमा ठुलो जिम्मेवारी रहेको छ । टोलीको सिनियर खेलाडी मध्येका एक सोमपल सन् २०१४ को टी-२० विश्वकप खेल्ने एक्लो(हाल राष्ट्रिय टोलीमा रहेका) खेलाडी हुन् । त्यसैले उनीबाट यसप्रतियोगितामा धेरै आशा राखिएको छ । ४७ एकदिवसीय खेल खेलेका सोमपालले ६३ विकेट लिएका छन् । उनी ब्याटिङमा पनि उतिकै पोख्त रहेका छन् । उनले दुई अर्धसतकसहित ४ सय ७८ रन बनाएका छन् । इमार्जिंङ कपमापनि उनले पाकिस्तान ‘ए’ विरुद्ध ७५ रन बनाएका थिए ।

तस्बिर- नेपाल क्रिकेट संघ(क्यान)

Leave a Reply

Your email address will not be published. Required fields are marked *