एसिया कप : नेपालको लागि चुनौतीसँगै अवसरपनि

प्रज्जवल थापा, काठमाडौं । १६ औं संस्करणको एसीसी एसिया कप बुधबारबाट शुरु हुँदैछ । पाकिस्तान र श्रीलंकामा हुने प्रतियोगितामा नेपालले पहिलोपटक सहभागिता जनाउँदैछ । प्रतियोगितामा डेब्यु गर्ने तयारीमा रहेको नेपाल विश्व क्रिकेटका दुई महारथी भारत र पाकिस्तानविरुद्ध मैदान उत्रिदैछ । रोचक कुरा त के छ भने नेपालले खेल्ने दुवै खेल छुट्टाछुट्टै दुई देशमा हुनेछ ।

नेपालको लागि एसिया कप नयाँ अनुभव हुनेछ । नौलो प्रतियोगिता, ह्याभिवेट दुई देश र सुपरस्टार खेलाडी । यसअघि नेपालले ठुलो प्रतियोगिता नखेलेको भने हैन । यसअघि नेपालले सन् २०१४ मा आईसीसी टी-२० विश्वकप खेलिसकेको छ । तरपनि यसपटक भारत र पाकिस्तानसँग खेल्ने भएको हुनाले नेपाली टोलीको लागि चुनौतीसँगै अवसर रहेको छ । प्रतियोगितामा नेपाललाई विश्वले हेर्नेछ र यस प्रतियोगितामा गरेको प्रदर्शनले विश्व क्रिकेटमा नयाँ ढोका ढक्ढकाउन मद्दत गर्नेछ ।

नेपाली क्रिकेटको लागि यस वर्ष विशेष रह्यो । आठ महिनाको अन्तरालमा नेपालले थुप्रै सफलता हात पार्यो । एक समय एकदिवसीय मान्यता कसरी जोगाउने चिन्तामा रहेको नेपालले एसिया कपसम्मको यात्रा तय गर्न सफल भयो । आईसीसी विश्वकप लिग-२ को पुछारबाट दोस्रो स्थानमा रहेको नेपालले एसोसियट क्रिकेटकै उत्कृष्ट पुनरागमन गर्दै पछिल्लो १२ खेलमा ११ खेल जितेर दोस्रो स्थानमा रहँदै एकदिवसीय मान्यता जोगाउनुसँगै विश्वकपको छनोट खेल्ने अवसर पायो ।

पछिल्लो आठ महिनामा नेपाली क्रिकेटले पाएको सफलता भारतीय मुख्य प्रशिक्षक मोन्टी देशाईसँग जोडिएको छ । गुटबन्दीसँगै विभिन्न विवादमा अल्झिएको नेपाली क्रिकेट टोली मोन्टीको आगमनसँगै ‘ह्यापी ड्रेसिंङ रुम’मा परिवर्तन भयो । अहिले टोलीमा ह्यापी ड्रेसिङ रूपको नारा छ । जसको कारण नतिजापनि सन्तोषजनक रहेको छ ।

‘रोड टु एसिया कप’

गत अप्रिलमा नेपालले एसीसी प्रिमियर कप आयोजना गरेको थियो । घरेलु मैदानमा अपराजीत रहेर उपाधि जित्दै नेपालले एसिया कपमा आफ्नो स्थान सुरक्षीत गरेको थियो । १० टोली सम्मीलित प्रतियोगितामा नेपालले ६ खेल खेल्दै चार खेलमा जीत निकालेको थियो । दुई खेलमा भने वर्षा बाधक बनेको थियो । रोमान्चक बनेको फाइनल खेलमा युएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट भएको थियो ।

एसिया कप नेपालको लागि सबैभन्दा ठुलो एकदिवसीय प्रतियोगिता हुनेछ । यसअघि सन् २०१४ मा आईसीसी टी-२० विश्वकप खेलेको थियो । त्यसपछि नेपालले आईसीसी तथा एसीसीले आयोजना गर्ने ठुलो प्रतियोगितामा पहिलोपटक सहभागिता जनाउन लागेको हो ।

एसिया कपलाई विश्वकपपछिको सबैभन्दा ठुलो प्रतियोगिता मानिन्छ । विश्व क्रिकेटमा आफुलाई चिनाउन नेपाललाई यस प्रतियोगिताले ठुलो मद्दत गर्नेछ । नेपाल विश्व क्रिकेटकै शक्तिशाली राष्ट्र मानिने भारत र पाकिस्तानसँग समूहचरणमा खेल्दैछ । उक्त खेलमा सम्मानजन प्रदर्शन गरेको खण्डमा नेपाली क्रिकेटमा नयाँ अध्याय थपिनेछ ।

नेपालले यस अवसरलाई सिकाइसँगै सफलताको रुपमा लिनु जरुरी छ । एकदिवसीय विश्वकप खेल्न संघर्ष गरिरहेको नेपालले एसिया कप जस्तो ठुलो स्टेजमा आफ्नो क्षमता देखाउनु जरुरी छ । नेपाली खेलाडी विश्व क्रिकेटमा चर्चीत विराट कोहलीसँगै बाबर आजामको विरुद्धमा आत्मबलसहित मैदान उत्रिनुपर्नेछ । नेपाललाई यस प्रतियोगितामा गुमाउनुपर्ने केहि नभएको हुनाले उत्कृष्ट प्रदर्शन गर्न सकेको खण्डमा विश्व क्रिकेटमा नेपालको नाम एक खुड्किलो माथि उठाउन मद्दत पुग्नेछ ।

यता नेपालले हालसम्म टेस्ट राष्ट्रलाई हराउन सकेको छ । नेपालले गत जुनमा जिम्बाव्वेमा भएको आईसीसी क्रिकेट विश्वकप छनोटमा सहभागिता जनाएको थियो । उक्त प्रतियोगितामा नेपालको प्रदर्शन सन्तोषजनक हुन सकेन । नेपालले छनोटको आठौँ स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको थियो । समूहचरणमा टेस्ट राष्ट्र जिम्बाब्वेसँगै दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग खेलेको नेपालले जीत निकाल्न सकेन । समूहचरणमा अमेरिकालाईमात्र हराउन सकेको नेपालले ६ खेलमा मात्र दुई जीत निकाल्न सक्यो । सातौँ स्थानको लागि भएको अन्तिम खेलमापनि नेपाल टेस्ट राष्ट्र आयरल्याण्डसँग दुई विकेटले पराजीत भएको थियो । त्यसैले एसिया कपमा टेस्ट राष्ट्रविरुद्धको खराब लयलाई पूर्णविराम लगाउने अवसर रहेको छ । तर जीत निकाल्न सहज पक्कै छैन ।

एसिया कपको तयारीको रुपमा नेपालले श्रीलंकामा भएको एसीसी इमार्जिंङ टिम्स एसिया कप खेलेको थियो । ८ राष्ट्र सहभागी प्रतियोगितामा अन्य टोलीले आफ्नो ‘ए’ टोली पठाउँदा नेपालको राष्ट्रिय टोलीलेनै सहभागिता जनाएको थियो । उक्त प्रतियोगितामापनि नेपालको प्रदर्शन सन्तोषजनक रहेन । प्रतियोगितामा नेपालले युएईको ए टोलीलाई हराउँदा भारत र पाकिस्तानको ए टोलीलाई कडा प्रतिस्पर्धापनि दिन सकेन । त्यसपछि नेपालले श्रीलंकामै १५ दिनको क्याप गरेको थियो ।

त्यसैले पहिलो सहभागितामै नेपाल एसिया कपलाई सम्झनलायक बनाउन चाहन्छ । ६ राष्ट्र सम्मीलित प्रतियोगिताको नेपाल समूह ‘ए’मा रहेको छ । समूह ‘ए’मा नेपालसँगै भारत र पाकिस्तान रहेका छन् । नेपालले भदौ १३ गते हुने उद्धाटन खेलमा पाकिस्तानसँग खेल्नेछ । उक्त खेल पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेल भदौ १८ मा भारतसँग श्रीलंकाको पाल्लेकेले अन्तराष्ट्रिय क्रिकेट मैदानमा खेल्नेछ । भारतले पाकिस्तान जान अस्विकार गरेपछि प्रतियोगिता दुई देशमा आयोजना गर्न लागिएको हो ।

तस्बिर- नेपाल क्रिकेट संघ(क्यान)

Leave a Reply

Your email address will not be published. Required fields are marked *