काठमाडौं । केही दिनअघि सुनसरीको धरानमा सार्वजिनक रुपमा गोरु काटेर खाएको विषय सदनमा उठेको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले यसबारे सरकारको जवाफ माग गरेका छन् ।
उनले सदियौंदेखि विभिन्न विविधता, एकता, श्रद्धाले युक्त देशलाई स्वभाविक र अराजक गतिविधि गरेर दुषित बनाउन खोजिएको बताए । आपसी एकता, सद्भाव र सहिष्णुताको विशिष्टतम सभ्यतालाई चुनौती दिँदै धरानमा भएको घटना निन्दनीय भएको उनको भनाइ छ ।
उनले वैदिक सत्य सनातन धर्मलाई कमजोर बनाउने, आधारभूत मान्यतालाई आक्रमण गर्ने तथा आस्थाका केन्द्रमा धावा बोल्ने काम गलत भएको बताए। नेपालमा शान्ति, स्थिरता र मेलमिलाप देख्न नचाहने अतिवादीहरुले द्वन्द्व सिर्जना गराइ लाभ लिन खोजेको स्पष्ट भएको उनको दाबी छ ।
उनले भने, ‘केही दिनअघि धरानमा अस्वभाविक र अराजक घटना भयो। यो घटनाले हामी नेपालीलाई मर्माहत बनाएको छ। गोरु काटेर सामूहिक भोज गरिएको घटनालाई त्यसमा संलग्न उश्रृंखल तत्वहरुले सामाजिक सञ्जालमार्फत् प्रचार गर्न खोजेको देखिन्छ। घटना निन्दनीय छ।’