प्रेमिकाको नग्न भिडियो पोर्न साइटमा राख्ने विकलाई मलेसियाबाट ल्याइयो

काठमाडौं । प्रहरीले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका म्याग्दीका २७ वर्षीय प्रकाश विकलाई मलेसियाबाट नेपाल फिर्ता ल्याएको छ ।

विकलाई नेपाल प्रहरीको इन्टरपोल शाखाले इन्टरपोल मलेसियासँगको समन्वयमा नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

उनीविरूद्ध पीडितसँग प्रेम सम्बन्धमा रहेका बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाएर रेकर्ड गरेका नग्न भिडियो, फोटोहरू सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेको, पीडितका आफन्तलाई पठाएको तथा पीडितले आफ्नो फेसबुक अकाउन्ट डिएक्टिभ गरेपछि उनको नाममा फेक अकाउन्ट बनाई ती सामग्री पोर्न साइटमा समेत अपलोड गरी चरित्रहत्या गरेको आरोप छ ।

उनीविरूद्ध साइबर अपराध मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको थियो । विक वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेको साइबर ब्यूरोले जानकारी गराएपछि विकविरूद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि २०७८ माघ २४ गते इन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी भएको थियो । पक्राउ परेका विकलाई आवश्यक कानूनी कारबाहीका लागि साइबर ब्यूरो भोटाहिटीमा बुझाइएको इन्टरपोल शाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *