कांग्रेस महाधिवेशनमा सबैलाई खुला प्रतिस्पर्धाको अवसर : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सहभागी हुन कुनै पनि नेता वा कार्यकर्तालाई रोक नलगाइएको स्पष्ट पारेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले कांग्रेसको महाधिवेशनमा सबै नेता तथा कार्यकर्ताले सहभागी भएर नेतृत्व चयन प्रक्रियामा प्रतिस्पर्धा गर्न पाउने बताए । उनले महाधिवेशन पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै अघि बढ्ने दाबी गरे ।

थापाका अनुसार असोज ४ गतेदेखि अधिवेशन प्रक्रिया सुरु हुनेछ भने असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशनको प्रक्रिया अघि बढ्नेछ । उनले महाधिवेशनमा प्रतिस्पर्धा गरेर जिम्मेवारीमा आउन नसकेका नेता तथा कार्यकर्तालाई समेत समेट्दै पार्टीलाई थप एकताबद्ध बनाउनुपर्नेमा जोड दिए ।

उनले महाधिवेशनले पार्टीभित्रका सांगठनिक र आन्तरिक विषय व्यवस्थापन गर्ने भए पनि कांग्रेसका लागि सबैभन्दा ठूलो चुनौती नागरिकसँग कमजोर बनेको सम्बन्ध र विश्वास पुनःस्थापित गर्नु रहेको बताए ।

महाधिवेशन सम्पन्न भएपछि कांग्रेसले नागरिकसँगको सम्बन्ध बलियो बनाउन देशव्यापी अभियान सञ्चालन गर्ने तयारी गरेको पनि थापाले जानकारी दिए। उनका अनुसार पार्टीलाई संगठनात्मक रूपमा मात्रै नभई नागरिकका मुद्दासँग जोडेर अघि बढाउन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *