काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बजारमा ग्यास उपलब्ध देखिए पनि उपभोक्ताले सहज रूपमा पाउन नसकेको भन्दै सरकारमाथि कडा प्रश्न उठाएकी छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले पसलमा ग्यास हुँदाहुँदै पनि उपभोक्ताले नपाएको गुनासो आफूले प्राप्त गरेको बताइन् । उनले यस्तो अवस्था आउनुमा सरकारभन्दा शक्तिशाली कुनै गिरोह वा माफिया सक्रिय छ कि भन्ने प्रश्नसमेत गरिन् ।
‘पसलमा ग्यास देखेर भोकभोकै बस्नका लागि नै जनताले दुईतिहाइ दिएका हुन्?’ भन्दै उनले सरकारको आपूर्ति व्यवस्थापनप्रति असन्तुष्टि जनाइ न्।
ग्यासको वास्तविक अवस्था सरकारले तत्काल स्पष्ट पार्नुपर्ने उनको माग छ । ग्यास उपलब्ध गराउन नसक्ने हो भने त्यसबारे जनतालाई औपचारिक रूपमा जानकारी गराएर वैकल्पिक व्यवस्था अपनाउन भन्नुपर्ने उनले बताइन् ।
मन्त्री फेरबदल गरेर मात्रै समस्या समाधान नहुने टिप्पणी गर्दै तामाङले ग्यासकै विषयमा मन्त्री परिवर्तन भइरहने हो भने भविष्यमा ‘ग्यासको भन्दा मन्त्रीहरूको लाइन लामो हुने’ अवस्था आउने व्यंग्य गरिन् ।
उनले जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकार गम्भीर र जिम्मेवार बन्नुपर्नेमा जोड दिइन् ।
