नयाँ वर्षमा तीन नयाँ फिल्म रिलिज

काठमाडौं । नयाँ वर्षको अवसर पारेर १ वैशाख शुक्रबारबाट तीनवटा नेपाली चलचित्र रिलिज हुने भएका छन् । अभिनेता दयाहाङ राई अभिनित दुई चलचित्र जारी र बिहे पाससँगै अर्को चलचित्र बुलाकी नयाँ वर्षको स्वागतस्वरूप हलमा आउन लागेको हो ।

गत सातासम्म नयाँ वर्षमा चारवटा चलचित्र रिलिज हुने भनिए पनि शुक्रबार रिलिज हुने चलचित्र नाई नभन्नु ल–६ भने प्राविधिक कारणले रिलिज हुन सकेन । यी तीनवटा भने हलमा आउँदै छन् । यसपटक नयाँ वर्षमा अनौठो प्रतिस्पर्धा हुँदै छ । दुईवटा चलचित्र जारी कथामा आधारित छन् । जुन आपसमा प्रतिस्पर्धा गर्दै छन् । दयाहाङकै दुई चलचित्र पनि आपसमा प्रतिस्पर्धा गर्दै छन् ।

रिलिज अघि चलचित्र जारीको बिहीबार बेलुका काठमाडौंमा प्रिमियर गरियो । यस अघि चलचित्र लेखकका रूपमा परिचित उपेन्द्र सुब्बाले चलचित्र जारी निर्देशन गरेका हुन् । चलचित्रलाई उपेन्द्रसँगै रामबाबु गुरुङले निर्माण गरेका हुन् ।

चलचित्र जारीमा लिम्बु समुदायको जारी प्रथाको कथा उठाइएको छ । यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, अनिल सुब्बा, पुष्कर गुरुङ, कमलमणि नेपाल, उपासन्बा नेम्वाङलगायतको अभिनय रहेको छ । सिनेमाले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको छ ।

‘लिम्बु समुदायमा छोरीले आफ्नो श्रीमान छाडेर अर्कोसँग भागी विवाह ग¥यो भने पूर्व ज्वाईंलाई माइती पक्षले जारी तिर्नुपर्छ । यो सहित लिम्बु समुदायको विभिन्न रोचक संस्कृतिलाई हामीले यो चलचित्रमा समेटेका छौं ।’ निर्देशक उपेन्द्रले प्रिमियरका क्रममा सञ्चारकर्मीसँग भने ।

१ वैशाखबाटै रिलिज हुने अर्को चलचित्र बुलाकीको बुधबार साँझ काठमाडौंमा प्रिमियर गरियो । यो चलचित्रमा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको यसका निर्देशक लक्ष्मण सुनाले बताए । उनले पनि यही चलचित्रबाट निर्देशनमा डेब्यु गरेका हुन् । यो पनि जारी प्रथाकै कथामा आधारित छ । आफूले यो चलचित्रमा कर्णाली प्रदेशमा अझै विधामान जारी प्रथालाई उठाएको निर्देशक सुनारले बताए ।

यो चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त, विराज विष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइको अभिनय छ । प्रकाश कँडेल र सरस्वती खत्रीले यो चलिचत्रबाट डेब्यु गर्दै छन् । फिल्ममा कर्णालीकै सम्बाद राखिएको छ । यो सम्बादलाई दर्शकले रुचाएका छन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोती विष्टको प्रस्तुति रहेको सिनेमा शिव ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा राजबहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता विष्ट पटकथा तथा संवाद रहेको छ ।

शुक्रबारबाटै रिलिज हुने अर्को चलचित्र बिहे पास पारिवारिक कथामा आधारित रहेको छ । सरकारी जागिरको लागि गरिने संघर्षको कथा यो फिल्ममा समेटिएको निर्माण पक्षको कथन छ । यो चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । उनी पनि नयाँ निर्देशक हुन् ।

चलचित्र बिहे पासमा दयाहाङ राई, प्रकृति श्रेष्ठ, शिशिर वण्डेल, बुद्ध तामाङ, रवीन्द्र झा, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउवाला गौतमलगायतको मुख्य भूमिका रहेको छ । राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *