होटल समिटको समस्या दोहोरिन नदिन के गर्ने ?

रञ्जनकुमार दाहाल ।
समिट होटलको जग भसिएपछि मिडियाहरुको फोन आइरहेको छ । किन होटलको जग वरिपरी जमिन भासियो भनेर सोध्नुहुन्छ मिडियाका साथीहरु ! मैले बुझेको यथार्थ यस्तो छ ।
१. नेपालमा घरको लागि जग र माटो अध्ययन गर्न कि त सित्तैमा कि अतिसस्तोमा हुनुपर्ने कुरा आमजनमानसमा छ ।

२. डिजाईनरहरु माटो जाच्ने काम क्लाइन्टको भनेर पन्छिदिने गर्छन् । जग र साईट अनुरूप माटोको प्रवृति परिवर्तन हुने कुरा थम रुल को माटो जाँचले हुँदैन भन्ने कुरा मनन् गर्ने चलन छैन ।

३. डिजाईनर, माटोको भारवहन क्षमता कति छ भन्दै सोध्ने गर्छन् तर संरचनाको डिजाईन कस्तो सोचेको छ, भन्दैनन् । कुखुरा पहिला ककिअण्डा पहिला भन्ने परिस्थिति छ ।

४. माटो वा क्ले कसरी बनेको कुरा हामी वास्ता राख्दैनौं । कति पुरानो, कस्तो भौगर्भिक गुण भन्ने कुरा अतिगौण राखिन्छ । ईन्जिनियरिङ माटो विज्ञानका पिता कार्ल तेरजाकीले मेकानिकल ईन्जिनियर भएर भूगर्भ विज्ञान पढि माटोमा हुने सीमित तनावको (Effectively Stress) को बारेमा थ्योरी तयार पारे भने ब्रिटिस प्रा. ईन्जिनियर विसपले त्यही कुरालाई प्रयोगात्मक अध्ययनले प्रमाणीत गरे । आज हामीले माटोमा हुने सीमित तनावको कुरामा होस् पुर्याएर जगको खाल्डोको सही डिजाईन नगरेको कारण नक्सालको हिल्टन र बखुन्डोलको समिट होटलको जगमा समस्या देखिएको हो ।

५. न्युजिल्याण्ड का भूप्राविधिक ईन्जिनियर र प्रा विसपका विद्यार्थी विजलेले चित्रमा देखाए गरि वरपर विल्डिङहरु भएको अवस्थामा कसरी जगको खाल्डोमा माटोको बलियोपनाको विश्लेषणको उपयुक्त विधि छनोट गर्ने आधारभूत सिद्धान्तलाई चित्रण गरेका छन् । पहिलो परिदृश्य सतही जगमा एक भवन निर्माण भएको अवस्था हो । जहाँका भवनले स्वाभाविक रूपमा भार थप्छ, र माटोको सीमित तनाव बढाउँछ। दोस्रो परिदृश्य मोटरवेको लागि ठाउँ बनाउनको लागि ठूलो खाल्डोको उत्खनन् गरिएको छ। यसले वरपरको माटोमा दिने विपरीत प्रभाव प्रष्टाएको छ र बिल्डिङको लोडले खाल्डोतर्फ माटोको सीमित तनाव कसरी कम हुने गर्दछ भनि प्रष्टाएको पनि छ । पहिलो परिदृश्यले माटो को थिचाई (Consolidation) को कारण माटो को पानी निचोरिन्छ र माटोको वलियोपना (Strength) बढ्छ । दोस्रो परिदृश्यमा विपरीत प्रकारको अवस्था सिर्जित हुन्छ । खनिएको खाल्डोको कारण माटोमा निहीत तनावमा (Stress) मा आउने कमीको प्रभावले सुरुमा माटोको छिद्र भित्र दबाबमा कमी आउछ र पानी उत्खनन् गरिएको खाल्डोतिर बग्न जान्छ। फलस्वरूप, घर मुनिको माटोको बल घट्छ। पहिलो अवस्थामा, माटोको प्रारम्भिक बलियोपनामा आधार भएको डिजाइन सुरक्षित हुन्छ । यो अवस्थामा समय बढे अनुसार घर मुनिको माटोको वलियोपना बढ्छ । जसको मतलब माटोको सुरक्षा सिमाना (Margin of safety)मा वृद्धि भैरहेको हुनेछ। दोस्रो अवस्थामा स्थिति उल्टो हुन्छ, त्यहाँका माटोको छिद्रमा रहेको पानी निचोरिएर खाल्डोतिर बग्दा माटोको सिमीत तनावले वलियोपना कमी आउँछ र खाल्डोमा माटोको सुरक्षा सिमाना पनि कमी आउन थाल्छ । अनि कम वलियोपनाको परिणाम स्वरूप नयाँ स्थिरताको स्थिति बनिदिन्छ र खाल्डो तर्फ घर मुनिको माटो भासिन थाल्छ । नक्सालको हिल्टन होटल र बखुन्डोलको समिट होटलको जगकोमा यही अवस्था सिर्जना भएको हो । चित्रमा यो अवस्था प्रट्याईएको छ !

६. यस्तो हुनबाट जोगिन अब के गर्ने त ? भन्ने प्रश्नमा काठमाडौंको क्ले वा माटोको गुण हातले माडेर बुझिँदैन । प्रा. विसपले औल्याउनु भएझैं माटोको त्रिआमायीक (Triaxial) जाँच गरेर माटोमा पानी नबग्ने परिस्थितिबाट कसरी पानी बग्ने परिस्थिति सिर्जना हुन्छ र नजिकै खनिने खाल्डोको कारण घर मुनिको माटोको वलियोपना घट्छ भनेर बुझेर काम गरौं । त्यसै अनुरुप जग खन्ने डिजाईन तयार पारौं ।  काठमाडौं क्लेमा सही अर्थको माटो जाँच गरौ, सस्तो को भर परेर हातले माडेर जगको बलियोपनाको रिपोर्ट बनाउन र ग्राहकले पनि त्यस्तो रिपोर्ट माग्न बन्द गरौं । यसलाई पालिकाहरुले कडाईका साथ अनुगमन गरौ र लागु गरौं ।

७. समिट होटलमा अब के गर्ने भन्नेकुरा नसोध्नुहोला ! यो व्यवसायिक ज्ञान व्यवसायिक रुपले मात्र दिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *