तनावी समाजको नैतिक ऐना यस्तै धमिलो हुन्छ !

-उत्तमबाबु श्रेष्ठ

नेपाली समाजको मध्यम वर्गमा एउटा अनौठो अहङ्कार छ, जसले आफूभन्दा कमजोर आर्थिक अवस्था भएका र कनिष्ठ पदमा काम गर्नेहरूलाई मान्छे नै गन्दैन । रेस्टुरेन्टमा वेटरहरूलाई बोलाउने शैली, विभिन्न ठाउँमा खटिएका सुरक्षागार्डप्रतिको व्यवहार र सम्बोधन, अनि सडकमा गाडी चढ्नेहरूले पैदल यात्रीलाई गर्ने हेपाइ, आफ्नै कार्यालयमा कार्यरत कनिष्ठ कर्मचारी प्रति गरिने व्यवहार, घरबेटीले डेरावालालाई गर्ने व्यवहार हेर्दा लाग्छ-उनीहरू आफूलाई ’सुपर मानव’ ठान्छन् र अरूलाई मानवभन्दा कम देख्छन्।

अस्ट्रेलियामा सन् १९६७ सम्म त आदिवासीहरूलाई ‘lora and Fauna Act’ (वनस्पति र जीवजन्तु ऐन) अन्तर्गत गणना गरिन्थ्यो । उनीहरूलाई ’पशु’ सरहको व्यवहार गरिन्थ्यो र जनगणनामा समेत मान्छेको रूपमा समेटिँदैनथ्यो। मान्छेको रूपमा स्वीकार नगरिसकेपछि जति हिंसा, अन्याय पनि जायज हुने भयो ।

संभवत नदी किनाराका बसोबास गरेका सुकुम्बासीहरू धेरैको नजरमा अतिक्रमणकारी, हुकुमबासी आदि इत्यादि हुनको मनोवैज्ञानिक कारण पनि यही हुन सक्छ । उनीहरू हामी सरहका मान्छे होइनन् भन्ने । जब मान्छेले अरूलाई (सत्रुलाइ, आफूभन्दा कमजोरलाई, अधिकार विहीनलाई) मानवभन्दा कम देख्न थाल्छ, तब उसमा दया हराउँछ। त्यसपछि उनीहरूमाथि गरिने दृश्य वा अदृश्य हिंसालाई उसले न्यायपूर्ण ठहर्याउँछ। युद्धमा अक्सर यस्तै देखिन्छ— मान्छेले विरोधीलाई मान्छे होइन, दानव वा हत्यारा देख्छ र अर्को पक्षमा हुने जस्तोसुकै नाजायज हिंसालाई पनि जायज ठहर्याउँछ।

थप कुरा, हाम्रो जस्तो जात, धर्म, आर्थिक र सामाजिक अवस्थाको पदानुक्रम (Hierarchy) मा हुर्किएका मानिसहरूका लागि क्रूरता सामान्य बनिसकेको छ। कथित ‘उच्च’ जातले ’तल्लो’ जात भनिनेहरूमाथि, धनीले गरिबमाथि र बहुसंख्यकले अल्पसंख्यकमाथि गर्ने अमानवीय व्यवहारका खबरहरू मिडियामा निरन्तर आइरहने हुनाले, समाजमा त्यो देखिइरहने र भोगीरहने हुनाले उनीहरूलाई त्यस्तो व्यवहार सामान्य लाग्न थाल्छ। उनीहरू यस्ता विषयमा संवेदनशील हुनुपर्छ भन्ने सोच्दैनन् र यस्ता व्यवहारको ’सामान्यीकरण’ गर्छन्।

तेस्रो, नेपाली समाजको एउटा यस्तो तप्का छ, जसलाई कसरी हातमुख जोर्ने, घर चलाउने र बालबच्चा पढाउने भन्ने चिन्ता र डरले सधैँ गाँजेको छ। यस्तो तनावपूर्ण समाजमा ‘आफू बाँचे पुग्यो, आफूले खाए र पाए पुग्यो’ भन्ने मानसिकता हाबी हुन्छ। जसरी भूकम्प वा अन्य प्रकोपका बेला राहत वितरणमा मानिसहरू अरूको वास्ता नगरी तँछाडमँछाड गर्छन्, त्यसरी नै आफ्नो अस्तित्व जोगाउन संघर्ष गरिरहेको भीडमा दया र करुणा भन्ने कुरा बाँकी रहँदैन। एउटा तनावी समाजको नैतिक ऐना यस्तै धमिलो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *