-नारायण गाउँले ।
यिनको चरित्र देखेर रास्वपाभन्दा एमाले र कांग्रेसलाई बढी लाज लाग्न पर्ने हो । राज्यका हरेक सङ्गठन र संयन्त्रलाई कसरी क्षतविक्षत बनाउने काम भएको थियो भन्ने अनुभव हुन पर्ने हो । सांसद् बनाएको पक्कै रास्वपाले हो, तर मेरिट, विधि र नैतिकता कुल्चेर वरिष्ठ प्रहरी अधिकृतसम्म पुर्याएको दलहरूले नै हो । प्रहरीभित्र इन्स्पेक्टरदेखि डीएसपी र एसपी हुँदासम्म आन्तरिक मूल्याङ्कनमा यी सधैँ पुछारतिर थिए । तर पालैपालो दुई पार्टीको फेरो समाउँदै यी अगाडि बढिरहे । एमाले नेता ईश्वर पोखरेलसँग नजिक भएपछि अन्य योग्य, क्षमतावान र सिनियर अफिसर्सलाई पन्छाएर यी डीआईजी बनाइएका थिए । अरूभन्दा कम नम्बर भए पनि पहिलो नम्बरमा राखेर यिनको मात्रै एकल बढुवा हुँदै आएको थियो ।
त्यति गर्दा पनि प्रहरी महानिरीक्षक बनाउन नसकिने भएपछि दरबन्दी नै थपेर यिनलाईमात्रै एआईजीमा बढुवा गर्ने एकदम विवादित निर्णय भएको थियो । त्यस्तो षड्यन्त्र र प्रपञ्चबाट यिनलाई कृत्रिम सिनियरमा रूपान्तरण गरिएको थियो । प्रहरी प्रमुखको एक्लो दाबेदार बन्ने गरी यिनको बढुवा हुँदा प्रहरीभित्र र बाहिर निकै असन्तुष्टि देखिएको थियो ।
तर एमाले सरकार ढलेसँगै महानिरीक्षक बन्ने यिनको लाइन र सपना पूरा भएन । देउवाले धीरजप्रताप सिंहलाई आईजीपी बनाएपछि यिनले ’बरीयता’ मिचिएको र सिनियरलाई नबनाएर जुनियरलाई बनाएको भन्दै राजीनामा दिएका थिए । जबकी सुरुदेखि धीरजप्रताप सिंह विश्वराजभन्दा सिनियर र कार्यसम्पादनमा अब्बल थिए । आफूसँग सात करोड मागिएको र दिन नसकेकाले आईजीपी नबनेको यिनले दाबी गरेका थिए । यसअघि कति रकम दिएर यी अन्य सिनियरलाई उछिन्दै एकल बढुवा हुँदै आएका थिए भन्ने उनले खुलाएका छैनन् । त्यति सिनियर प्रहरी अधिकारीसँग घूस माग्ने नेतालाई किन पक्राउ नगरेको भन्ने प्रश्न सोध्ने र कारबाही गर्ने काम बाँकी नै छ ।
२३–२४ को आन्दोलनमा त्यति ठूलो जनधनको क्षति हुनु र सुरक्षाचूक हुनुमा प्रहरी सङ्गठनको नालायकीपन पनि जिम्मेवार छ । सिङ्गो सङ्गठन नै तासको घरजस्तो गल्र्यामगुर्लुम ढलेको थियो । ३–४ लाखसम्मको भीड, आन्दोलन र आपातकाल व्यवस्थापन गर्न सक्ने लजिस्टिक रहेको प्रहरीले एक लाख जतिको भीड पनि नियन्त्रण गर्न सकेन । तालीम, अध्ययन, क्षमतावृद्धि र योग्यताजस्ता कुरा प्रहरीभित्र नचाहिने र नेताको आशीर्वाद भए पुग्ने परम्पराले गर्दा प्रहरीको क्षमता त्यस हदसम्म खस्किएको हो । नागरिक जोगाउनुपर्ने प्रहरी आफ्नै कार्यालय र यूनिफर्म जोगाउन नसक्ने अवस्थामा पुग्यो । त्यो सबै एकदिनमा भएको होइन । सङ्गठनभित्रको चरम राजनीति र भ्रष्टाचारले गर्दा भएको हो ।
म सिनियर भएर पनि आईजीपी बन्न पाइन भन्ने उनको रोदन बिक्यो । प्रहरीको त्यति माथिल्लो तहसम्म पुगेको व्यक्ति पक्कै सक्षम होला, अनुभवी होला र राजनीतिपीडित भएर आईजीपी नबनेको होला भन्ने रास्वपालाई लाग्यो । उसले टिकट दियो । त्यसमा खास कुनै गल्ती देखिन्न । उसले हतारमा गृहमन्त्री बनाएन । नत्र यिनले आफू गृहमन्त्री नै बन्ने भन्दै प्रचार गर्दै आएका थिए । आज यिनको क्षुद्र र तुच्छ व्यवहार बाहिर आउँदा समर्थन पनि गरेको छैन । नभएको दरबन्दी थपेर, मूल्याङ्कन र नम्बर मिचेर स्वार्थवश एउटा जुनियर प्रहरी अधिकृतलाई एक्लै बढुवा गर्ने काम गलत थियो भन्दै एमाले र कांग्रेसजस्ता साना पार्टीले आत्मालोचना गर्ने र माफी माग्ने हो भने रास्वपाले पनि माग्ला ।
