एजेन्सी । स्पेनिस लिग ला लिगमा साविक विजेता रियल म्याड्रिडले पुनरागमन जीत निकालेको छ । शनिबार बेलुकी भएको खेलमा इस्पानियोललाई ३-१ गोलले हराउँदै म्याड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंक दुरी घटाएको हो ।
घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जीत दिलाउन भिनिसियस जुनियर, इडर मिलिटाओ र मार्को एसेन्सियोले समान एक-एक गोल गरे । इस्पानियोलको लागि जोसेलुले गोल गरे । खेलको आठौँ मिनेटमा सान्चेजको पासमा जोसेलुले गोल गर्दै इस्पानियोललाई शुरुवाती अग्रता दिलाएका थिए ।
२३ औं मिनेटमै क्रुसको पासमा भिनिसियसले गोल गर्दै म्याड्रिडलाई १-१ गोलको बराबरीमा ल्याए । ३९ औं मिनेटमा चुआमिनीको क्रसमा मिलिटाओले गोल गर्दै म्याड्रिडलाई २-१ गोलको अग्रता दिलाए । यस्तै दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा नाचोको पासमा एसेन्सियोले गोल गर्दै म्याड्रिडलाई ३-१ गोलको जीत दिलाएका हुन् ।
जीतसँगै म्याड्रिड २५ खेलबाट ५६ अंक जोड्दै लिगको दोस्रो स्थानमा यथावत छ । समान खेलबाट २७ अंक जोडेको इस्पानियोल १३ औं स्थानमा रहेको छ ।
