दीपकको गोलमा सातदोबाटोको लगातार तेस्रो जीत

काठमाडौं । दीपक राज सिंह ठकुरीले इन्जुरी समयमा गरेको गोलको सहयोगमा सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो जीत निकालेको छ । शनिबार बेलुकी भएको खेलमा फ्रेन्ड्स क्लबलाई १-० गोलले हराउँदै सातदोबाटोले लिगमा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोको जीतमा दीपकले निर्णायक गोल गरेका हुन् । बराबरीतर्फ लम्किएको खेलको दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा निरज चौधरीको पासमा दीपकले गोल गर्दै सातदोबाटोलाई जीत दिलाएका हुन् ।

जीतसँगै सातदोबाटो ३ खेलबाट ९ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट एक अंक जोडेको फ्रेन्ड्स ११ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *