एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले महत्त्वपूर्ण जीत निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा क्रिस्चल प्यालेसलाई २-१ गोलले हराउँदै १० खेलाडीमा समेटिएको युनाइटेडले घरेलु मैदानमा लगातार १३ औं जीत निकालेको हो ।
ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जीत दिलाउन ब्रुनो फर्नान्डेज र मार्कुस रासफोर्डले समान एक-एक गोल गरे । प्यालेसको लागि जेफ्री स्चलुपले एक गोल फर्काए । खेलको सातौँ मिनेटमा फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई शुरुवाती अग्रता दिलाएका थिए ।
६२ औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । ७० औं मिनेटमा कासेमिरो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि युनाइटेड १० खेलाडीमा समेटिएको हो । ७६ औं मिनेटमा डोउकोरेको पासमा स्चलुपले गोल गर्दै प्यालेसलाई २-१ गोलको स्थितिमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा युनाइटेड २-१ गोलले विजयी भयो ।
जीतसँगै युनाइटेड २१ खेलबाट ४२ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट २४ अंक जोडेको प्यालेस १२ औं स्थानमा रहेको छ ।