फिफा विश्वकप : तेस्रो स्थानको लागि क्रोएसिया र मोरोक्को भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप-२०२२ अन्तर्गत आज हुने तस्रो स्थानको खेलमा साविक उपविजेता क्रोएसिया र मोरोक्को भिड्दैछन् । खालिफा अन्तराष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार राति ८:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्दै प्रतियोगितामा सुखद अन्त्य गर्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनासँग ३-० गोलले पराजीत भएसँगै लगातार दोस्रोपटक फाइनल पुग्नबाट वन्चित भएको क्रोएसिया तेस्रो स्थानमा रहँदै घर जान चाहन्छ । क्रोएसियाले चार वर्ष अगाडि नकआउट चरणको सबै खेल अतिरिक्त समय र पेनाल्टी सुटआउटमा जीत निकाल्दै फाइनलको यात्रा तय गरेको थियो । यसपटकपनि अन्तिम १६ मा जापान र क्वाटरफाइनलमा सर्वाधिक पाँचपटकको विजेता तथा उपाधिको बलियो दाबेदार ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनल पुगेको क्रोएसिया सेमिफाइनलमा लियोनल मेस्सीको अर्जेन्टिनाको अगाडि निरह बन्न पुग्यो ।

यता जारी विश्वकपमा अप्रत्याशित यात्रा गरिरहेको मोरोक्को सेमिफाइनलमा आएर साविक विजेता फ्रान्ससँग रोकिएको हो । फिफा विश्वकपको सेमिफाइनल खेल्ने पहिलो अफ्रिकन टोली बन्दै कीर्तिमान बनाएको मोरोक्को सेमिफाइनलमा फ्रान्ससँग २-० गोलले पराजीत भएको थियो । यसअघि प्रि-क्वाटरफाइनलमा उपाधि दाबेदार स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको मोरोक्कोले अन्तिम ८ मा पोर्चुगललाई स्तब्ध बनाएको थियो । सेमिफाइनल अगाडि प्रतियोगितामा विपक्षी खेलाडीबाट गोल नबेहोरेको मोरोक्को आज सुखद नतिजा निकाल्दै प्रतियोगिताको अन्त्य गर्न चाहन्छ ।

यसअघि दुवै टोली समूहचरणको खेलमापनि भिडेका थिए । समूह ‘एफ’ अन्तर्गत भएको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । यस समूहबाट मोरोक्को समूह विजेता र क्रोएसिया समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *