फाइनल प्रवेशको लागि आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप-२०२२ अन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । लुसाइल इकोनिक स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

जारी प्रतियोगितामा शानदार प्रदर्शन गरेका दुवै टोली आजको खेलमापनि सोहि लयलिई निरन्तरता दिँदै फाइनलमा प्रवेश गर्न चाहन्छन् । अर्जेन्टिनाको प्रतियोगितामा शुरुवात भने सुखद रहेन । पहिलो खेलमै साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाको उक्त खेलमा ३६ खेलको अपराजीत यात्रामा पूर्णविराम लागेको थियो । तर त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै समूहको शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुगेको अर्जेन्टिनाले अष्ट्रेलियालाई पन्छाएको थियो । यस्तै क्वाटरफाइनलमा नेदरल्यान्ड्सको चुनौतीलाई पन्छाउन्दै अर्जेन्टिनाले साविक उपविजेतासँगको भेट पक्का गरेको हो ।

हालसम्म अर्जेन्टिना विश्वकपको सेमिफाइनलबाट बाहिरिएको छैन । हालसम्म पाँचपटक सेमिफाइनल खेलको अर्जेन्टिना सबैपटक फाइनल पुगेको छ । पछिल्लोपटक सन् २०१४ मा फाइनल पुगेको अर्जेन्टिना जर्मनीसँग पराजीत हुँदै उपविजेतामा चित्त बुझाएको थियो ।

यता क्रोएसियाको लागि भने समूहचरण मध्यम रह्यो । समूहचरणमा मोरोक्को र बेल्जियमसँग बराबरी खेलेको क्रोएसिया क्यानडालाई हराउँदै समूहको उपविजेताको रुपमा नकआउट चरणमा पुगेको थियो । यस्तै अन्तिम १६ मा जापान र क्वाटरफाइनलमा उपाधिको बलियो दाबेदार ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसियाले अर्को दाबेदार अर्जेन्टिनासँगको भेट पक्का गरेको हो । यसअघि सन् २०१८ मा रसियामा भएको विश्वकपको नकआउट चरणको कुनैपनि खेल निर्धारित समयमा जीत ननिकाली फाइनलको यात्रा गरेको क्रोएसिया पछिल्लो ११ खेलमा अपराजीत रहेको छ ।

क्रोएसिया लगातार दोस्रोपटक फाइनल पुग्ने लक्ष्यमा रहेको छ । पछिल्लो संस्करणमा फाइनल पुगेको क्रोएसिया फ्रान्ससँग पराजीत भएको थियो । हालसम्म इटाली, नेदरल्यान्ड्स र जर्मनीमात्र लगातार दोस्रोपटक फाइनल पुगेका छन् । क्रोएसियाले विश्वकपको पछिल्लो १० नकआउट खेलमा गोल गरेको छ ।

दुई टोलीबीच गत संस्करणको विश्वकपको समूहचरणमा भेट भएको थियो । उक्त खेलमा क्रोएसियाले ३-० गोलको सहज जीत निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *