शंकास्पद कारोबारको रिपोर्टिङ ह्वात्तै बढ्यो

काठमाडौं । सम्पत्ति शुद्धीकरणको सूचना संकलन तथा विश्लेषण गर्दै आएको वित्तीय जानकारी एकाइमा शंकास्पद कारोबारको रिपोर्टिङ ह्वात्तै बढेको छ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था कार्यान्वयनमा नियामक निकायहरूले कडाइ गरेसँगै रिपोर्टिङ संख्या बढेको हो । नेपाल राष्ट्र बैंकमा रहेको एकाइको वार्षिक प्रतिवेदनअनुसार गत वर्ष अघिल्लो वर्षको तुलनामा ८१ प्रतिशतले रिपोर्टिङ बढेको छ

गत आर्थिक वर्ष (आव) २०७८र७९ मा वित्तीय कारोबार गर्ने सूचक संस्थाले २ हजार ७ सय ८० ओटा सूचना एकाइमा पठाएका छन् । यो अघिल्लो आवको तुलनामा ८१ दशमलव ३४ प्रतिशतले बढी हो । आव २०७७र७८ मा शंकास्पद कारोबारको १ हजार ५ सय ३३ सूचना रिपोर्टिङ भएको थियो ।

शंकास्पद कारोबारसम्बन्धी सबैभन्दा बढी रिपोर्टिङ वाणिज्य बैंकहरूबाट हुने गरेको छ । यसपछि धेरै सूचना रेमिट्यान्स कम्पनीहरूले गर्छन् । इन्स्योरेन्स, धितोपत्र ब्रोकर तथा सहकारीको रिपोर्टिङ भने न्यून रहेको देखिन्छ ।

सबैभन्दा बढी रिपोर्टिङ वाणिज्य बैंकहरूबाट भएको छ । यसपछि क्रमशस् रेमिट्यान्स, बीमा कम्पनी, धितोपत्र ब्रोकरले रिपोर्टिङ गरेका छन् । सहकारीको रिपोर्टिङ सबैभन्दा कम छ ।

गत आवमा वाणिज्य बैंकहरूले २ हजार ३ सय ८० ओटा सूचना रिपोर्टिङ गर्दा रेमिट्यान्स कम्पनीले १ सय ८७, विकास बैंकहरूले १ सय १९, लघुवित्त वित्तीय संस्थाहरूले ४४, फाइनान्स कम्पनीले १९ ओटा रिपोर्टिङ गरेका छन् । यस्तै सरकारी निकायले ११ ओटा, इन्स्योरेन्सले नौओटा, ब्रोकर कम्पनीले आठओटा र सहकारीले तीनओटा मात्र रिपोर्टिङ गरेको एकाइको प्रतिवेदनमा उल्लेख छ ।

सम्पत्ति शुद्धीकरण निवारण ऐनको प्रावधानअनुसार वित्तीय कारोबार गर्ने संस्थामा शंकास्पद कारोबार भएमा ३ दिनभित्र एकाइमा रिपोर्टिङ गर्नुपर्छ ।

यसैगरी गत आवमा संस्थाहरूले सीमा कारोबार २४ लाख पुगेको सूचना पनि एकाइमा पठाएका छन् । यो संख्या पनि अघिल्लो आवको तुलनामा २० प्रतिशतले बढी हो । अघिल्लो वर्ष एकाइमा १९ लाख ९९ हजारओटा सीमा कारोबारका सूचना रिपोर्टिङ भएको थियो ।

गत आवमा सीमा कारोबारको रिपोर्टिङ भने सबैभन्दा बढी ब्रोकर कम्पनीबाट भएको छ । यसको संख्या ५ लाख ३२ हजार ३ सय ४३ पुगेको छ । यस्तै बैंक, वित्तीय संस्थाबाट ३ लाख ८४ हजार ७ सय २८, सहकारीबाट २ लाख ७४ हजार १ सय १३, इन्स्योरेन्स कम्पनीबाट १ लाख ९५ हजार ३ सय ५, मनी चेन्जरबाट ३ हजार ९ सय ३९, कर्मचारी सञ्चय कोषबाट ९ हजार ८ सय १८ र अन्य संस्थाबाट १ हजार ४ सय ६८ ओटा सूचना केन्द्रमा प्राप्त भएको छ ।

बैंक, वित्तीय संस्था, सहकारीलगायतमा एकै दिन एक जनाले १० लाख रुपैयाँभन्दा बढी कारोबार गरेमा केन्द्रलाई जानकारी गराउनुपर्छ । यस्तै वार्षिक १ लाख रुपैयाँ प्रिमियम तिर्ने गरी जीवन बीमालेख खरीद तथा ३ लाख रुपैयाँभन्दा बढी प्रिमियमको निर्जीवन बीमा पोलेसी खरीदको सूचना पनि केन्द्रलाई दिनुपर्छ ।

यसैगरी घरजग्गा खरीदमा १ करोडभन्दा बढीको कारोबार, शेयरमा कारोबारमा १० लाख, क्यासिनोमा १० लाख, एकाउन्टेन्ट, अडिटर तथा नोटरी पब्लिकका साथै सुनचाँदी खरीदमा पनि १० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्नेको सूचना केन्द्रमा पठाउनुपर्ने व्यवस्था छ ।

सूचक संस्थाले गोएएमएल सफ्टवेयरमार्फत सूचना पठाउनुपर्ने व्यवस्था केन्द्रले गरेको छ । हालसम्म ९९ संस्थाले पूर्णरूपमा यसको प्रयोग गरिरहेको, ५ सय ३९ संस्था परीक्षणकालमा रहेको र ५ सय १५ संस्थाले भने म्यासेज बोर्डमार्फत सूचना पठाइरहेको केन्द्रले जानकारी दिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *