काठमाडौं । सुपरस्टार खेलाडी तथा कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप-२०२२ अन्तर्गत केहिबेरमा मोरोक्कोविरुद्ध हुने क्वाटरफाइनलको खेलको शुरुवात बेन्चबाट गर्ने भएका छन् । पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले कप्तान रोनाल्डोलाई बेन्चमा राख्दै फेरीपनि युवा खेलाडी गोन्जालो रामोसलाई शुरुवाती ११ मा खेलाउने निर्णय गरेका हुन् ।
रोनाल्डो यसअघि अन्तिम १६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्ध भएको खेलमापनि बेन्चमा रहेका थिए । उक्त खेलमा रोनाल्डो ७४ औं मिनेटमा मैदान छिरेका थिए । उनको स्थानमा सुरुवात गरेका रामोसले जारी विश्वकपको पहिलो ह्याट्रिक पूरा गर्दै सबैको ध्यान तानेका थिए । त्यसैले सान्तोषले युवा फरवार्डलाईनै मैदान उतारेका हुन् । मुख्य प्रशिक्षक सान्तोषले आजको खेलमा एक परिवर्तन गरेका छन् । मिडफिल्डमा स्विट्जरल्यान्डविरुद्ध शुरुवात गरेका विलियम कार्भालोको स्थानमा रुविन नेभेजलाई मैदान उतारेका छन् ।
पोर्चुगलको शुरुवाती ११ – डिएगो कोस्टा(गोलकिपर), डिएगो डालोट, पेपे(कप्तान), रुविन डियास, राफायल गुरेरो, ओटाभियो, रुविन नेभेस, बर्नाडो सिल्भा, ब्रुनो फर्नान्डेज, जोए फिलिक्स, गोन्जालो रामोस