एजेन्सी । सर्वाधिक पाँचपटकको च्याम्पियन ब्राजिललाई हराउँदै साविक उपविजेता क्रोएसिया फिफा विश्वकप-२०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजीत गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको हो ।
एजुकेसन सिटी स्टेडियममा भएको खेलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा जीत दिलाउन निकोला भ्लासिक, लोभ्रो माजेर, लुका मोड्रिक र मिस्लाब ओर्सिकले गोल गरे । ब्राजिलको लागि केसेमिरो र पेड्रोले गोल गर्दा रोद्रिगो र मार्किन्होस चुकेका हुन् । यसअघि निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलको अतिरिक्त समयमापनि विजेताको टुंगो नलागेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
अतिरिक्त समयमा ब्राजिलको लागि नेयमार जुनियरले एक गोल गर्दा क्रोएसियाको लागि ब्रुनो पेट्कोभिकले एक गोल फर्काए । अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा लुकासको पासमा नेमयारले गोल गर्दै ब्राजिललाई शुरुवाती अग्रता दिलाएका थिए । तर १ सय १७ औं मिनेटमा ओर्सिकको पासमा पेट्कोभिकले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पेनाल्टी सुटआउटमा क्रोएसिया भाग्यमानी रह्यो ।
जीतसँगै क्रोएसिया सेमिफाइनलमा पुग्दा पराजीत ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ । अब क्रोएसियाले फाइनल प्रवेशको लागि आजै नेदरल्यान्ड्स र अर्जेन्टिनाबीच हुने दोस्रो क्वाटरफाइनलको विजेतासँग खेल्नेछ ।