एजेन्सी । फिफा विश्वकप-२०२२ अन्तर्गत आज हुने पहिलो क्वाटरफाइनल खेलमा सर्वाधिक पाँचपटकको च्याम्पियन र साविक उपविजेता क्रोएसिया भिड्दैछन् । एजुकेसन सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ८:४५ बजे शुरु हुनेछ ।
आज हुने खेलमा दुवै टोली जीत निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । अन्तिम १६ अन्तर्गत भएको खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले पराजीत गरेपछि क्रोएसिया लगातार दोस्रोपटक र इतिहासमै तेस्रोपटक क्वाटरफाइनल खेल्दैछ । क्रोएसियाले आफुले खेलेको पछिल्लो ८ नकआउट खेलमा ७ पटक अतिरिक्त समय खेलेको छ । गत संस्करणमा फ्रान्ससँग ४-२ गोलले पराजीत भएसँगै उपाधि सुम्पिएको क्रोएसिया यसपटक उपाधिमा आफ्नो नाम लेखाउन चाहन्छ । क्रोएसिया आफ्नो पछिल्लो १० खेलमा अपराजीत रहेको छ भने पछिल्लो २० खेलमा मात्र एकपटक हार बेहोरेको छ ।
यता प्रि-क्वाटरफाइनलमा दक्षिण कोरियालाई ४-१ गोलले हराउँदै अन्तिम ८ को टिकट काटेको ब्राजिल उच्च मनोबलमा रहेको छ । ब्राजिलले लगातार सातौँपटक विश्वकपको क्वाटरफाइनल खेल्न लागेको हो । तर इतिहासलाई पल्टाउने हो भने ब्राजिल पछिल्लो ४ विश्वकपमा तीनपटक क्वाटरफाइनलबाटै घर फर्किएको छ । सन् २००२ को विश्वकपको फाइनलमा जर्मनीलाई २-० गोलले हराउँदै उपाधि उचालेबाट ब्राजिलले पछिल्लो ५ नकआउट खेलमा युरोपियन टोलीलाई हराउन सकेको छैन । तर ब्राजिल क्रोएसियासँग भएको पछिल्लो चार भेटमा अपराजीत रहेको छ ।