काठमाडौं । नेकपा (एमाले)ले गत मंसिर ४ गते सम्पन्न निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगलाई १० बुँदे ध्यानाकर्षण गराएको छ ।
विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा मतदानका क्रममा अनियमितता र बुथ कब्जा भएको भन्दै एमालेले ती क्षेत्रमा पुनः मतदान गराउन आयोगको ध्यानाकर्षण गराएको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरुलाई भेटी सुनसरी–४ को मतगणना तत्काल अघि बढाउन पनि आग्रह गरेको छ ।
एमालेले पत्रमा मतगणनामा निर्वाचन क्षेत्र अनुसार मत बदर र सदर सम्बन्धमा फरक–फरक मापदण्ड अपनाउने, निर्वाचित भएको व्यक्तिलाई कसैलाई प्रमाणपत्र तत्काल दिने र कसैलाई नदिई राख्ने कार्य पूर्णतः कानून प्रतिकुल रहेको पनि उल्लेख गरेको छ । पार्टीका उम्मेदवार बसन्त नेम्वाङलाई पाँचथरमा निर्वाचित भएको प्रमाणपत्र नदिई रोक्ने कुराले सत्ता गठबन्धन धाँधली गर्ने तयारीमा लागेको आशंका सिर्जना भएको एमालेको दाबी छ ।
यस्तै, प्रत्यक्षतर्फ र समानुपातिकमा प्रत्येक निर्वाचन क्षेत्रबाट प्राप्त समानुपातिकतर्फको मतहरु उपलब्ध गराई कूल योगफल मिले–नमिलेको हेर्न सकिने गरी पारदर्शिता अपनाउने व्यवस्था मिलाउन पनि एमालेले आयोगलाई आग्रह गरेको छ ।