लगातार दोस्रो जीतसँगै पोर्चुगल अन्तिम १६ मा

एजेन्सी । मिडफिल्डर ब्रुनो फर्नान्डेजले दुई गोल गरेपछि पोर्चुगल लगातार दोस्रो जीत निकाल्दै फिफा विश्वकप-२०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा उरुग्वेलाई २-० गोलले पराजीत गर्दै पोर्चुगल एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको हो ।

लुसाइल आइकोनिक स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा दुई गोल गर्दै पोर्चुगलले अन्तिम १६ को टिकट काटेको हो । पोर्चुगल अन्तिम १६ पुग्ने तेस्रो टोली हो । यसअघि फ्रान्स र ब्राजिलले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षीत गरिसकेको छ ।

खेलको ५४ औं मिनेटमा गुरेरोको पासमा फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई शुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा फर्नान्डेजले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-० गोलको जीत दिलाए ।

जीतसँगै पोर्चुगलले चार वर्ष अगाडि विश्वकपको अन्तिम १६ मा भोगेको हारको बदला लिएको थियो । पोर्चुगल दुई खेलबाट ६ अंक जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट एक अंक जोडेको उरुग्वे पुछारमा रहेको छ ।

अब पोर्चुगलले अन्तिम खेलमा दक्षिण कोरियाको सामना गर्नेछ भने उरुग्वेले घानाविरुद्ध खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *