एजेन्सी । फिफा विश्वकप-२०२२ अन्तर्गत भएको समूह ‘जी’को खेलमा क्यामरुन र सर्बियाले बराबरी खेलेका छन् । सोमबार दिउँसो भएको रोमान्चक खेलमा क्यामरुन र सर्बियाले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।
अल जानोउब स्टेडियममा भएको खेलमा एक समय दुई गोलले अगाडि रहेको सर्बिया अग्रता जोगाउन नसक्दा अंक बाढ्न बाध्य भयो । खेलमा शुरुवाती अग्रता भने क्यामरुनले लिएको थियो । खेलको २९ औं मिनेटमा निकोलसको पासमा जेन चार्लेस कास्टेलिटोले गोल गर्दै क्यामरुनलाई शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा दुई गोल गर्दै सर्बिया खेलमा फर्कियो ।
इन्जुरी समयको पहिलो मिनेटमा टाडिकको क्रसमा स्ट्राहिन्जा पाभ्लोभिकले गोल गर्दै सर्बियालाई १-१ गोलको बराबरीमा ल्याए । दुई मिनेट पछाडी जिभ्कोभिकको पासमा सेर्जे मिलिन्कोभिक-स्याभिकले गोल गर्दै सर्बियालाई २-१ गोलको अग्रता दिलाए । ५३ औं मिनेटमा जिकोभिकको पासमा एलेक्सान्डर मिट्रोभिकले गोल गर्दा सर्बिया सहज जीततर्फ लम्किएको थियो ।
तर ६३ औं मिनेटमा कास्टेलिटोको पासमा भिन्सेन्ट अबोउबाकरले गोल गर्दै क्यामरुनलाई ३-२ गोलको स्थितिमा ल्याए । ६६ औं मिनेटमा अबोउबाकरको पासमा इरिक म्याक्सिम चोउपो-मोटिंगले गोल गर्दै क्यामरुनलाई ३-३ गोलको बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल ३-३ गोलको बराबरीमा सकिएको हो ।
बराबरीसँगै दुवै टोलीले एक-एक अंक बाढेका छन् । आजै हुने समूहको अर्को खेलमा ब्राजिल र स्विट्जरल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार राति ९ ४५ बजे शुरु हुनेछ ।