एजेन्सी । कोस्टारिकाले फिफा विश्वकप-२०२२ मा महत्त्वपूर्ण जीत निकालेको छ । आइतबार दिउँसो भएको समूह ‘ई’को खेलमा जापानलाई १-० गोलले पराजीत गर्दै कोस्टारिकाले नकआउट चरण पुग्ने सम्भावना जीवित राखेको हो ।
अहमेद बिन अली स्टेडियममा भएको खेलमा कोस्टारिकालाई जीत दिलाउन केयशेर फुलेरले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८१ औं मिनेटमा टेजेडाको पासमा फुलेरले गोल गर्दै कोस्टारिकालाई जीत दिलाएका हुन् ।
जीतसँगै कोस्टारिका दुई खेलबाट ३ अंक जोड्दै समूहको तेस्रो स्थानमा रहेको छ । समान अंक जोडेको जापान गोलअन्तरमा अगाडि रहँदै दोस्रो स्थानमा यथावत छ ।