एजेन्सी । दोस्रो हाफको इन्जुरी समयमा गरेको दुई गोलको सहयोगमा इरानले फिफा विश्वकपमा रोमान्चक जीत निकालेको छ । शुक्रबार दिउँसो भएको खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई २-० गोलले हराउँदै इरानले नकआउट चरण पुग्ने सम्भावनालाई जीवित राखेको हो ।
अहमेद बिन अली स्टेडियममा भएको खेलमा इरानलाई जीत दिलाउन रोजबेह चेष्मी र रामिन रेजाइनले समान एक-एक गोल गरे । बराबरीतर्फ लम्किएको खेलको दोस्रो हाफको इन्जुरी समयको आठौँ मिनेटमा चेष्मीले गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए । यस्तै तीन मिनेटपछि टारेमीको पासमा रामिनले गोल गर्दै इरानलाई २-० गोलको जीत दिलाएका हुन् ।
यसअघि पहिलो हाफको १६ औं मिनेटमा अलि घोलिजादेहले गरेको गोल अफसाइड भएसँगै इरानले खेलमा अग्रता लिने मौका गुमाएको थियो । ८६ औं मिनेटमा वेल्सका गोलकिपर वायेन हेन्नेसी रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो ।
जीतसँगै इरान दुई खेलबाट ३ अंक जोड्दै समूह ‘बी’को दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट एक अंक जोडेको वेल्स समूहको पुछारमा छ