एजेन्सी । कतारमा जारी फिफा विश्वकप-२०२२ मा पोर्चुगलले विजयी शुरुवात गरेको छ । बिहीबार राति भएको खेलमा घानालाई ३-२ गोलले पराजीत गर्दै पोर्चुगलले विश्वकपमा शानदार शुरुवात गरेको हो ।
रास अबु अबोउद स्टेडियममा भएको खेलमा पोर्चुगललाई जीत दिलाउन क्रिस्टियानो रोनाल्डो, जोए फिलिक्स र राफायल लियोले समान एक-एक गोल गरे । घानाको लागि एन्ड्रिउ एनु र ओस्मान बुकारीले एक-एक गोल फर्काए । सबै गोल दोस्रो हाफमा भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई शुरुवाती अग्रता दिलाएका हुन् । यस गोलसँगै रोनाल्डो लगातार पाँच वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
७३ औं मिनेटमा एनुले गोल गर्दै घानालाई १-१ गोलको बराबरीमा ल्याए । ७८ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा फिलिक्सले गोल गर्दै पोर्चुगललाई २-१ गोलको अग्रता दिलाए । ८० औं मिनेटमा फर्नान्डेजकै पासमा लियोले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । ८९ औं मिनेटमा बुकारीले हेडर गोल गर्दै घानालाई ३-२ गोलको स्थितिमा ल्याए ।
बाँकी समयमा दुवै टोलीबाट थप ह्गोल हुन नसक्दा पोर्चुगल ३-२ गोलले विजयी भएको हो । जीतसँगै पोर्चुगल तीन अंक जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा रहेको छ । गएरातिनै सम्पन्न समूहको अर्को खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अंक बाढेका हुन् ।