एजेन्सी । फिफा विश्वकप-२०२२ मा साविक विजेता फ्रान्सले शानदार शुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा अष्ट्रेलियामाथि ४-१ गोलको पुनरागमन जीत निकाल्दै फ्रान्सले विश्वकपमा शानदार शुरुवात गरेको हो ।
अल नाजोउब स्टेडियममा भएको खेलमा फ्रान्सलाई जीत दिलाउन ओलिभिएर जिरुडले दुई गोल गर्दा कालियन एम्बाप्पे र एड्रिन राबिओटले समान एक-एक गोल गरे । अष्ट्रेलियाको लागि क्रेग गुडविनले एक गोल गरे । खेलको नवौं मिनेटमा लिकेको पासमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई शुरुवाती अग्रता दिलाएका थिए ।
२७ औं मिनेटमा थियो हर्नान्डेजको क्रसमा राबिओटले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए । ३२ औं मिनेटमा राबिओटको पासमा जिरुडले गोल गर्दै फ्रान्सलाई २-१ गोलको अग्रता दिलाए । ६८ औं मिनेटमा डेम्बेलेको क्रसमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई सहज जीततर्फ अगाडि बढाएका थिए ।
यस्तै ७१ औं मिनेटमा एम्बाप्पेको क्रसमा जिरुडले हेडर गोल गर्दै फ्रान्सलाई ४-१ गोलको जीत दिलाए । यस गोलसँगै जिरुडले राष्ट्रिय टोलीको लागि सर्वाधिक गोल गर्ने थिएरी हेन्रीको ५१ गोलको कीर्तिमानसँग बराबरी गरेका छन् । जीतसँगै समूह ‘डी’मा रहेको फ्रान्सले तीन अंक जोडेको छ ।