काठमाडौं । कतारमा आइतबारबाट शुरु भएको फिफा विश्वकपको दोस्रो दिन आज तीन खेल हुँदैछ । आज हुने खेलमा सन् १९६६ को विश्व विजेता इंग्ल्याण्डसँगै नेदरल्याण्ड्स र वेल्सपनि मैदान उत्रिदैछन् ।
इंग्ल्याण्ड विरुद्ध इरान
आज हुने समूह ‘बी’को पहिलो खेलमा इंग्ल्याण्ड र इरान भिड्दैछन् । खालिफा अन्तराष्ट्रिय रंगशालामा हुने खेल बेलुकी ६:४५ बजे सुरु हुनेछ । चार वर्ष अगाडि क्रोएसियासँग पराजीत हुँदै सेमिफाइनलबाट घर फर्किएको इंग्ल्याण्ड यसपटक उपाधि जित्ने लक्ष्यसहित कतार पुगेको हो । इंग्ल्याण्ड सन् १९९६ को विश्वकपपछि उपाधिको भोको रहेको छ । युरो २०२० मापनि इंग्ल्याण्ड फाइनल पुगेपनि उपविजेतामा चित्त बुझेको थियो ।
आफ्नो पछिल्लो ६ खेलमा जीतको स्वाद चाख्न नपाएको इंग्ल्याण्ड नेसन्स लिगबाटपनि घटुवा भएको थियो । आजको खेलमा जीत निकाल्न नसकेको खण्डमा इंग्ल्याण्ड सन् १९५८ पछि दोस्रो पटक लगातार सात खेल जीतविहिन बन्नेछ ।
यता फिफा वरीयताको २० औँ स्थानमा राहेको इरान समूह ‘बी’को दोस्रो स्थानको लागि वेल्स र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । इरानले विश्वकपमा दुई खेल भन्दा जित्न सकेको छैन । यस्तै इरानले हालसम्म विश्वकपको समूहचरण पार गर्न सकेको छैन । पछिल्लो ५ खेलमा तीन जीत निकालेको इरान इंग्ल्याण्डलाई बलियो चुनौती दिने लक्ष्यमा रहेको छ ।
सेनेगल विरुद्ध नेदरल्यान्ड्स
यस्तै आज हुने समूह ‘ए’को खेलमा सेनेगलले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । अल थुमामा स्टेडियममा हुने खेल राति ९:४५ बजे शुरु हुनेछ । उत्कृष्ट लयमा रहेका दुवै टोलीबीच आजको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । दुवै टोली पछिल्लो पाँच खेलमा अपराजीत रहेका छन् ।
अमेरिका विरुद्ध वेल्स
आज हुने दिनको तेस्रो खेलमा अमेरिकाले वेल्सको सामना गर्नेछ । अहमेद बिन अलि स्टेडियममा हुने खेल राति १२:४५ बजे शुरु हुनेछ ।
गत संस्करण गुमाएको अमेरिका यसपटक सुखद शुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ । यस समूहमा वेल्स र अमेरिका इंग्ल्याण्डको लागि टाउको दुखाइ बन्न सक्छन् । अमेरिका सहभागिता जनाएको पछिल्लो सात संस्करणको चारपटक नकआउट चरणमा पुगेको छ ।
अमेरिकाको युरोपियन टोलीविरुद्ध नतिजा सुखद छैन । युरोपियन टोलीबिरुद्ध भएको पछिल्लो ९ भेटमा अमेरिकाले जीत निकाल्न सकेको छैन । यसपटक नकआउट चरण प्रवेश गर्न अमेरिकाले उक्त इतिहासलाई बदल्नुपर्नेछ ।
यता ६४ वर्षपछि विश्वकपमा सहभागिता जनाउन लागेको वेल्सपनि उच्च मनोबलमा रहेको छ । प्लेअफमा युक्रेनलाई १-० गोलले पराजीत गर्दै वेल्स विश्वकपको लागि छनोट भएको हो । आजको खेलमा सबैको नजर कप्तान गेरेथ बेलमा हुनेछ । पछिल्लो दुई ठुलो प्रतियोगिता युरो २०१६ र २०२० मा सहभागिता जनाएको वेल्स दुवैपटक नकआउट चरणमा पुगेको थियो ।