एजेन्सी । विश्व फूटबलको महाकुम्भ फिफा विश्वकप-२०२२ आजबाट कतारको शुरु हुँदैछ । सन् १९३० मा उरुग्वेबाट शुरु भएको फिफा विश्वकपको २२ औं संस्करणमा ५ महाराष्ट्रबाट ३२ राष्ट्र उपाधिको लागि भिड्दैछन् । एसियाबाट ६ राष्ट्र यसपटक विश्वकपमा सहभागिता जनाउँदैछन् । कतार आयोजकको रुपमा इतिहासमै पहिलोपल्ट विश्वकप खेल्दैछ ।
यस्तै दक्षिण अमेरिका र उत्तर अमेरिकाबाट समान चार-चार राष्ट्रले विश्वकप खेल्दैछन् भने अफ्रिकाबाट ५ टोली कतार पुगेका छन् । यस्तै युरोपबाट सर्वाधिक १३ टोली विश्वकपको लागि छनोट भएका छन् । यसपटक सहभागिता जनाउने ३२ मध्ये २४ टोलीले रसियामा भएको गत संस्करणमापनि सहभागिता जनाएका थिए । कतार विश्वकपमा डेब्यु गर्ने एक्लो टोली हो ।
सन् २०१८ को विश्वकप गुमाएका नेदरल्यान्ड्स, इक्वेडर, घाना, क्यामरुन र अमेरिका फर्किंदा क्यानडालेपनि ३६ वर्षपछि विश्वकपमा सहभागिता जनाउँदैछ । यस्तै वेल्सपनि ६४ वर्षपछि विश्वकप खेल्ने तरखरमा छ ।
यता चार पटकको विश्व विजेता र युरोपियन च्याम्पियन इटाली र सन् २०१५ र २०१६ को कोपा अमेरिका च्याम्पियन चिलीले लगातार दोस्रोपटक विश्वकप गुमाउँदैछन् । प्रतियोगितामा सहभागि ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष दुई स्थानमा रहने टोली अन्तिम १६ मा पुग्नेछन् । विश्वकपले ६४ खेलपछि विजेता पाउनेछ ।
क्षेत्रफलको आधारमा हेर्ने हो भने कतार विश्वकप आयोजना गर्ने सबैभन्दा सानो राष्ट्र हो । क्षेत्रफलमा सानो भएपनि कतारले विश्वकपलाई भव्य बनाउन केहि कमि गरेको छैन । कतारले आयोजना गर्न लागेको विश्वकपलाई सबैभन्दा महँगो विश्वकप भनिएको छ । कतारले रंगशाला, बाटो, होटेल र अन्य संरचना बनाउनको लागि २ खर्ब २० अर्ब अमेरिकी डलर खर्च गरेको छ ।
कतार विरुद्ध इक्वेडर
आज हुने फिफा विश्वकपको उद्धाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्दैछन् । अल बायात स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकी ९:४५ बजे शुरु हुनेछ ।
आज हुने खेलमा दुवै टोली जीत निकाल्दै विश्वकपमा उत्कृष्ट शुरुवात गर्न चाहन्छन् । कतारको लागि यो डेब्यु विश्वकप हो । कतार विश्वकपको डेब्यु खेलमै घरेलु दर्शकमाझ जीत निकाले लक्ष्यमा रहेको छ । कतारले पछिल्लो चार खेलमा सतप्रतिशत जीत निकालेको छ ।
यता इक्वेडरपनि सुखद शुरुवातको अपेक्षामा रहेको छ । इक्वेडरले आफ्नो पछिल्लो खेलमा मात्र एक जीत निकालेपनि अपराजीत रहेको छ ।
यसअघि दुई टोलीले सन् २०१८ मा मैत्रीपूर्ण खेल खेलका थिए । उक्त खेलमा कतार ४-३ गोलले विजयी भएको थियो ।