प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवार ९ प्रतिशत मात्रै

काठमाडौं। आगामी मङ्सिरमा हुने आम निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिलाको सहभागिता नौ प्रतिशत मात्रै रहेको छ ।

जनसंख्या र मतदाता संख्या दुवैमा महिलाको संख्या आधाभन्दा बढी भए पनि उम्मेदवारीमा नौ प्रतिशतमा खुम्च्याइएको भन्दै महिला नेतृहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

राजनीतिक दलहरूले प्रत्यक्षमा वरिष्ठ नेताहरूलाई व्यवस्थापन गर्नुपर्ने र महिलाले जित्न नसक्ने भन्दै महिलालाई टिकट नदिने गरेको महिला नेताहरूको गुनासो छ ।

दलहरूले भने संविधानमै सुरक्षित ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था समानुपातिक प्रणालीबाट पूर्ति गर्नेगरी प्रत्यक्षमा महिलालाई कम ठाउँमा प्रतिस्पर्धा गराएको बताएका छन् ।

राजनीतिमा महिला सहभागिताको प्रश्न सबै फोरमहरूमा उठ्ने गरे पनि जिम्मेवारी दिने बेलामा पछाडि पारिएको गुनासो गर्दै नेपाली कांग्रेसकी नेतृ लक्ष्मी परियारले भनिन्– ‘महिलाले जित्दैनन् भन्ने भ्रम सिर्जना गरेर प्रत्यक्ष निर्वाचन प्रणालीलार्र्र्र्र्र्ई पुरुष नेताहरूकै दाइजो जस्तोगरी टिकट वितरण हुनेगरेको छ । यो समस्या सबै दलमा देखिएको छ । तर, सबै पार्टीले महिला र महिलाबीच वा पुरुष र महिलाबीच प्रतिस्पर्धा गराए पनि हामी उहाँहरूजत्तिकै काम गर्न र प्रतिस्पर्धामा भाग लिन सक्छौं ।’

दलहरूले यसअघि पनि समानुपातिक प्रणालीबाट ल्याएर समग्रमा महिला सहभागिता ३३ प्रतिशत पु¥याउने गरेको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १ सय ६५ र सात प्रदेशसभामा ३ सय ३० निर्वाचन क्षेत्र रहेका छन् ।

निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीअनुसार आसन्न आमनिर्वाचनमा १ करोड ७९ लाख ८ हजार ५ सय ७० जना मतदाता रहेका छन् ।

आयोगका अनुसार स्थानीय तह निर्वाचनमा भन्दा यसपटक २ लाख ५४ हजार ८ सय ४७ मतदाता बढी छन् । कुल मतदातामध्ये ८८ लाख ४७ हजार ५ सय ७९ महिला, ९१ लाख ४० हजार ८ सय ६ पुरुष रहेका छन् भने १ सय ८५ अन्य मतदाता रहेको आयोगले जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *