काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले जनकपुरलाई जितको लागि १ सय २१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २० रनमात्र बनाउन सक्यो । सुदूरपश्चिमको लागि ब्राण्डन म्याकमुलेनले ३३ रन बनाए । उनले २३ बलमा २ चौका र २ छक्का प्रहार गरे । यस्तै थारिन्दु रत्नायाकेले नटआउट २७, आरिफ शेखले ११ तथा सैफ जैब र विनोद भण्डारीले समान १०/१० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
जनकपुरको लागि हर्मित सिंहले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिँदा ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता र अविशेक तिवारीले समान एक/एक विकेट लिए । अब जनकपुरले जवाफी ब्याटिङ गर्नेछ ।
