पर्यटकीय सिजन सुरु भएसँगै जुरमुरायो पर्वतीय सङ्ग्रहालय

कास्की । पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। पर्यटकीय याम सुरु भएसँगै सङ्ग्रहालयमा पर्यटकको आकर्षण बढ्दै गएको सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिएकी छन्।

चाडपर्वसँगै सङ्ग्रहालय अवलोकनमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेको उनले बताएकी हुन्।

आर्थिक वर्ष २०८३/८४ को कात्तिक २० गतेसम्म २० हजार ९ सय ३८ जनाले सङ्ग्रहालय अवलोकन गरेका छन्। कार्यकारी निर्देशक न्यौपानेका अनुसार यी चार महिनाको अवधिमा सार्क राष्ट्रका दुई हजार ८ सय ६८ जना, सार्क राष्ट्र बाहेक अन्य देशका छ हजार २९ जना र ४१ जना गैरआवासीय नेपालीले सङ्ग्रहालय अवलोकन गरेका छन्।

साउनमा चार हजार ९ सय ९९ जना, भदौमा तीन हजार ३ सय ४७ जना, असोजमा छ हजार ४ सय ३ जना र कात्तिक २० गतेसम्म छ हजार १ सय ८९ जना स्वदेशी तथा विदेशी पर्यटक सङ्ग्रहालय पुगेको तथ्याङ्क छ।

पर्वतीय पर्यटनका विविध पक्ष अवलोकन गराउने उद्देश्यले यो सङ्ग्रहालय निर्माण गरिएको हो। हिमाली जीवनका साथै पर्वतीय पर्यटनका क्षेत्रलाई नजिकबाट नियाल्न पाइने भएकाले यो ठाउँ आकर्षक गन्तव्यका रूपमा विकास हुन थालेको छ। सङ्ग्रहालय पुग्ने पर्यटकले हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिको रीतिरिवाज, वेशभूषा, कला, संस्कृति र भौगोलिक अवस्थाका विषयमा विस्तृत जानकारी पाउन सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *