काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत भएको खेलमा सुदूरपश्चिम रोयल्सले रोमाञ्चक जित निकालेको छ । मंगलबार राति सम्पन्न खेलमा सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको हो ।
जितको लागि १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले १९.५ ओभरमा अलआउट हुँदै ९३ रन मात्र बनाउन सक्यो । जनकपुरको लागि त्रितराज दासले २१ र जिमी निसामले २० रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् ।
सुदूरपश्चिममको लागि स्कट कुगेलेइनले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिँदा हेमन्त धामी, थारिन्दु रत्नायाके, दीपेन्द्र सिंह एरी, अनिल खरेल र इशान पाण्डेले समान एक/एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २० रन बनाएको थियो । सुदूरपश्चिमको लागि ब्राण्डन म्याकमुलेनले ३३ रन बनाए । उनले २३ बलमा २ चौका र २ छक्का प्रहार गरे । यस्तै थारिन्दु रत्नायाकेले नटआउट २७, आरिफ शेखले ११ तथा सैफ जैब र विनोद भण्डारीले समान १०/१० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
जनकपुरको लागि हर्मित सिंहले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिँदा ह्यारी टेक्टर, राहुल यादव, आदित्य महता र अविशेक तिवारीले समान एक/एक विकेट लिए ।
जितसँगै सुदूरपश्चिम ६ खेलबाट ८ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने समान खेलबाट ४ अंक जडेको जनकपुर पाँचौ स्थानमा रहेको छ ।
