काङ्ग्रेसमा नातावाद कृपावाद, धनवाद र डनवाद हाबीको हल्ला

दुर्गाप्रसाद गौतम ।

पुरानो लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेस बीपीको आर्दशबाट सिञ्चित लामो काल खण्डसम्म जनताको हकहित र बीपीको समाजवादी चिन्तनलाई व्यवहारमा उतार्न लामो संर्घष गरेका धेरै नेताहरुले योगदान गरेको पार्टी हाे । यसका वर्तमानका राजनैतिक व्यवहारलाई हेर्दा साँच्चै बीपी आज बाँचिरहेका भए यो पार्टीमा हुन्थे की नाइ भन्ने जिज्ञासा यो पंक्तिकारलाई भएको छ । बीपीले भन्नुहुन्थ्यो, जुन कार्यकर्ताले पार्टी भित्र भैरहेका गलत गतिविधिलाई टुलुटुलु हेरिरहन्छ र यस्ता पार्टी बिरोधी गतिविधिमा मौन रहन्छ उ कि त दास हो वा व्यक्तिगत स्वार्थका खातिर जुनसुकै बेला जो सुकैलाई धोका दिनसक्ने समाज, राष्ट्र र पार्टीकै पनि गद्दार हो । पार्टीकोअसल कार्यकर्ताले पार्टीको नाममा पार्टीको विचार सिद्धान्तका विरुद्ध केबल केही व्यक्तिगत फाइदाका लागि नै नेताले गरेका गलत कामको ढाकछोप गर्दैनन् बरु त्यसलाई खुला समाजमा बहसका लागि ल्याउँछन् ताकी आमजनतामा पार्टीको धारणा राम्रो र नराम्रो गर्ने नेताको प्रति नराम्रो धारणा बनोस् ।

आज नेपाली समाजमा के नेपाली काङ्ग्रेसले विचारको राजनीति छोड्यो र यसले बीपीले कल्पना गर्नुभएको नेपाल राष्ट्रको निर्माणमा कुनै भूमिका नै निर्वाह गरेन भनेर प्रश्न गर्ने प्रशस्तै आधार सृजना गरेको छैन ? पक्कै यसको सहज उत्तर कमसेकम पार्टीका इमान्दार कार्यकर्ताहरुले भेट्टाउन गाह्रो छ ।

आज नेपाली काङ्ग्रेसको सिङ्गो संरचनालाई यसरी घेराबन्दी गरिँदै लगिएको छ कि चाहेर पनि असल, इमान्दार, देश रजनतालाई केही दिउँ भन्ने भावना क्षमता बोकेका कुनै पनि असल कार्यकर्ता जिम्मेवार पदमा जाने वातावरणबाटै बन्चित गरिन्छ । यदि केही गरि कोही फुत्किहाल्यो भने उसलाई काम गर्न अवरोध त्यहीँभित्र आफूले सृजना गरेको चाटुकारहरुको प्रयोग गरिन्छ । पछिल्लो समय त्यसै भएर नेपाली काङ्ग्रेसको प्रत्येक तहको नेतृत्व नेपाली काङ्ग्रेसलाई जनतासँग जोड्ने कार्यमा भन्दा नेताको वरिपरि गणेश भक्तिमै तल्लीन छ । यसले एकार्तफ नेतालाई म त लोकप्रिय छु यतिका मानिस मेरा वरिपरि छन् भनी आत्मरतिमा रमाउन मद्दत गरेको छ भने अर्कोतर्फ कार्यकर्तालाई जनताको बीचमा गई आफूलाई स्थापित गर्नुपरेको छैन । नेताको वरिपरिको परिक्रमाबाटै सबै प्राप्त भैहाल्छ भन्ने छ । तर यसले जनताबाट पार्टीलाई कति टाढा लगेको छ र यसको दूरगामी असर के हुन्छ भन्ने कुरा त आमनिर्वाचनमा जनताले काङ्ग्रेसलाई दिने म्यान्डेटबाट मात्र आँकलन हुन्छ।

बर्तमान समयमा नेपाली काङ्ग्रेसले अवलम्बन गरेको नीति यो अर्थमा देश र जनता लागि ठिक छ भन्ने बहस किन चलाउन काङ्ग्रेस सकिरहेको छैन ? र, आफ्नै कार्यकर्ता र समर्थकहरुमा ठूलो निराशा किन छ ? भन्ने कुराको खोजी नगर्ने र नेतृत्वले गल्ती गर्दैन भन्ने मनोदशाबाट नेतृत्व पङ्क्तिमा बस्ने नेताहरू आत्मरतिमा रमाउने र गठबन्धन छ चुनाव जितिहालिन्छ भन्ने मनोभावनाबाट मात्र निर्वाचनको विषयलाइ नेताहरूले लिएका छ्न् भने त्यो भ्रम मात्र हुन्छ ।

पछिल्लो समय पार्टी संगठनलाई मजबुत गरि जनताको बीचमा रहेर काम गर्छु भन्ने कार्यकर्ताभन्दा नेताको वरिपरि घुम्ने, नेतालाई धन दिन सक्ने मसल पावर भएको कार्यकर्ता बढी प्रिय भएका छन् जुन जनतालाई भने प्रिय छैनन् । हो, अहिले काङ्ग्रेस नेतृत्वले नेपाली काङ्ग्रेसको निर्वाचन नतिजा अब्बल खोज्ने हो भने गोजीका मानिस नभएर जनतामा लैजाँदा जनताले सहजै अरु पार्टीकालाईभन्दा बढी स्वीकार गर्ने उम्मेदवार दिन सक्नुपर्छ । यसका लागि काङ्ग्रेस नेतृत्व कति तयार छ त्यसैका आधारमा आगामी निर्वाचनमा काङ्ग्रेसको स्थान तय हुनेमा काङ्ग्रेस ढुक्क भए हुन्छ ।

पछिल्लो समय नेपाली काङ्ग्रेसमा श्रीमती, छोरा, बुहारी, भान्जाभान्जी आफन्त नातावाद कृपावादले पार्टीभित्रका पदहरु र पार्टीबाहिरका पदहरुसमेत क्षमता, दक्षता उसको पार्टीमा रहेको योगदानलाई आधार बनाएरभन्दा माथि उल्लेखित कुराहरूबाट प्रभावित भएको र हालै काङ्ग्रेसले निर्वाचन कार्यलयमा बुझाएको प्रतिनिधिसभा र प्रदेश सभाको लिस्टमा पनि व्यापकरुपमा नातावाद कृपावाद धनवाद र डनवाद र बिहानदेखि बेलुकीसम्म गरिएका चाटुकारी र लम्पसार स्तुतिगान र भक्तिवादले काम गरेको छ भन्ने सुन्नमा आएको छ । यदि यो साँच्चै हो भने यसले नेपाली काङ्ग्रेसको लोकप्रिय मतलाई गत चुनावमा भन्दा १५/२० प्रतिशतले घटाउने छ । किन कि नेपाली काङ्ग्रेसका अति नै जागरुक भोटरहरु अरु पार्टीको जस्तो बन्देजमा रहन्नन् र यिनीहरु गल्ती खराबी सुधार्न जो सुकै भए पनि नसिहत दिनुपर्छ भन्ने  मनोभावनाबाट प्रेरित छन् । जनतामा लोकप्रिय रहेकाहरुलाई संविधानले परिकल्पना गरेअनुसारको समानुपातिकको बन्दसूचिमा राखेको भए पो कार्यकर्ता र नेपाली काङ्ग्रेसका शुभचिन्तकहरुलाई आमजनतालाई नेपाली काङ्ग्रेस पार्टीले जनताको चाहना अनुसार काम गर्छ भनेर आकर्षण गर्न सक्ने र भोट हाल्नैपर्छ भन्ने हुन्छ । अन्यथा जनताले काङ्ग्रेसलाई किन भोट दिने कुन नेताको श्रीमती, बहिनी, छोरा, बुहारी, भान्जी, भान्जा वा चाटुकारलाई के का लागि भोट दिने ? भन्यो भने आफैं दिगभ्रमित भएर के गर्छ थाहा हुँदैन । त्यसैले भोलि आफूले गरेको गल्तीका कारण पार्टी हार्दा अन्तरघातको ट्याग अलोकतान्त्रिक गतिविधि गर्ने र जबर्जस्त आफ्नो बलमिच्याइँ गर्ने व्यवहारलाई नदिएर गलत हुनुभन्दा अगाडि असहमतिका स्वरहरु राख्ने साथीलाई दिएर केही हुने छैन ।

नेपाली काङ्ग्रेसको नेतृत्वले बुझ्न जरुरी छ । नेपाली काङ्ग्रेसको हरेक इमान्दार कार्यकर्ता यो देशको सच्चा नागरिक र सचेत मतदाता पनि हो । त्यसैले उसको त्यो सचेत मतदानको अधिकारलाई सम्मान हुनेगरि काङ्ग्रेसले संघ र प्रदेशका प्रत्यक्ष र समानुपातिकका उम्मेदवार तय गर्नुपर्छ । अन्यथा परिणाम सोचेभन्दा फरक निश्चित प्रायः छ।

पछिल्लो समय नेपाली समाजले मागेको भन्दा भिन्न प्रस्तुती काङ्ग्रेसले गरिरहेको छ भन्ने आरोप पनि काङ्ग्रेससङ्ग जनताको रहेको सन्दर्भमा नेपाली काङ्ग्रेसले सुझबुझका साथ अगाडि बढ्नुपर्छ । अन्यथा जनता तथा ईमान्दार कार्यकर्ताले भनेझैं काङ्ग्रेसमा धनवाद, डनवाद, नातावाद,कृपावाद नै टिकटमा हाबी हुने हो भने आज नेपाली काङ्ग्रेसबाट संघ र प्रदेशमा टिकट कै दाबी गर्ने कति मानिसहरु काङ्ग्रेस निर्वाचनपछि बाँकी रहन्छ । त्यो चाहिँ हेर्न बाँ की हुन्छ ।

लेखकः नगर सभापति, नेपाली काङ्ग्रेस नागार्जुन नगर कार्यसमिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *