चुनाव गराउन अढाइ लाख कर्मचारी माग

काठमाडौं । निर्वाचन आयोगले यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारसँग अढाइ लाख कर्मचारी मागेको छ।

निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले आयोगले यसपटक निर्वाचन प्रयोजनका लागि सरकारसँग २ लाख ४६ हजार कर्मचारी मागेको बताए। यो संख्या गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको तुलनामा करिब ५० हजार बढी हो। स्थानीय तहको निर्वाचनमा करिब २ लाख कर्मचारीलाई खटाइएको थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुन पोखरेलले निर्वाचन आयोगले माग गरेअनुसार आयोगलाई कर्मचारी पठाउने काम भइरहेको बताए। आयोगले आवश्यक ठाने संघ, प्रदेश तथा स्थानीय तहमा समायोजन गरिएका कर्मचारीहरू परिचालन गर्न सकिने कानुनमा व्यवस्था छ। यो संख्याले नपुगे शिक्षकहरूलाई समेत आयोगले कर्मचारीका रूपमा प्रयोग गर्न सक्छ। निर्वाचनमा खटिने सबै कर्मचारीलाई आयोगले तालिम दिने भएको छ।

दवाडीका अनुसार यसपटक देशभर मतदानस्थल र मतदान केन्द्र थपिनेछन्। त्यसकारण कर्मचारी तथा सुरक्षाकर्मीको संख्या पनि बढ्ने भएको हो। गत स्थानीय तहको निर्वाचनमा एउटा मतदान केन्द्रमा ७ देखि ९ कर्मचारी खटाइएका थिए। तर यसपटक एउटा मतदान केन्द्रमा ११ देखि १३ जनासम्म कर्मचारी रहने भएका छन्।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनपछि यसपटक करिब ५ लाख मतदाता थपिने आयोगको अनुमान छ। यद्यपि मतदाता नामावलीको अन्तिम सूची भदौ ३१ गते प्रकाशित हुनेछ। स्थानीय तहको निर्वाचनमा देशभर १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *