काठमाडौंमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं । काठमाडौँका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा प्रदेश नम्बर ३–०२–००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउमा रोकिराखेको बा प्र ०३–००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएर भएको दुर्घटनामा एकको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सोही महानगरपालिका–२१ वसन्तपुर दलाछी बस्ने ३१ वर्षीय सुनोजमान डङ्गोलको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गएराति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको तथा दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित सडकमा ना ४ ख १०६२ नम्बरको ट्रक र सु.प्र.प्र.०१–११ प २८५८ नम्बरको मोटरसाइकल ठक्कर खाई आज दुर्घटना हुँदा मोटरसाइकल चालक कञ्चनपुर पुनर्वास नगरपालिका–२ बस्ने २८ वर्षीय सुगम तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आज मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *