फोहोर व्यवस्थापनमा सहरी सक्रियता

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापन विषयमा सहरी विकास मन्त्रालयले सक्रियता बढाएको छ । निकाय र सिसडोल बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका स्थानीयबीच यसअघि भएको सहमति कार्यान्वयन समयावधि घर्किंदै जाँदा मन्त्रालयले सक्रियता देखाएको हो ।

सहरी विकासमन्त्री मेटमणि चौधरीको संयोजकत्वमा सांसद, काठमाडौं उपत्यका तथा फोहोर व्यवस्थापन हुने नुवाकोट र धादिङ जिल्लाका जनप्रतिनिधिसँग छलफल भएको छ ।

छलफलबाट सिसडोल र बन्चरेडाँडामा काठमाडौंको फोहोर व्यवस्थापन विषयमा सहजीकरण र अनुगमनका लागि उच्चस्तरीय समिति गठन गरिएको छ । समितिमा काठमाडौं, नुवाकोट र धादिङका सांसद्समेत छन् ।

कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले ‘फोहोर व्यवस्थापनमा दीर्घकालीन हल खोज्न सकियोस् भन्नका लागि काठमाडौं, नुवाकोट र धादिङका प्रतिनिधिसभा सदस्य सम्मिलित सहजीकरण तथा अनुगमन समिति बनाउने निर्णय गरेको’ बताए ।

‘केही दिनदेखि काठमाडौंको फोहोर उठ्न थालेको छ । अब पुनः समस्या नबल्झियोस् भन्नका लागि निरन्तर सहजीकरण र अनुगमन आवश्यक छ । फोहोर व्यवस्थापन सन्दर्भमा काठमाडौं महानगरपालिकाले गर्नुपर्ने काम निरन्तर गरिरहेको छ,’ सांसद् थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसबाहेक संघीय सरकारले गर्नुपर्ने काम तोकिएकै समय हुन सकोस् ।’

समितिले स्थानीय र सरकारबीच भएका सम्झौताबमोजिमका काम समयमै पूरा गर्न तीनवटै तहका सरकार र निकायसँग समन्वय र सहजीकरण गर्ने जनाएको छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *