चमत्कारले हैन मेहनतले उठ्छ फोहोर

काठमाडौं । सिथि नखः पर्वको दिन आइतबार नक्सालस्थित ढुंगेधाराको पेटीमा भगवान्को मूर्तिअगाडि थुपारिएको फोहोरले रविलाल सुवेदीको मन निकै दुखेको थियो। शुक्रबार तुलसीको दल राख्ने दिन यही स्थानमा पुग्दा विष्णु भगवान्छेउ उभिएका सुवेदी प्रसन्न मुद्रामा भेटिए।

‘यो चमत्कार हैन, सरोकारवालाको दिनरातको मेहनतले सम्भव भएको हो’, फोहोर व्यवस्थापनमा मेयर बालेन साहले देखाएको तदारुकताबाट प्रभावित सुवेदीले भने, ‘अब फेरि मन्दिरको आँगनमा फोहोर थुप्रिने दिन नआओस्।’

फोहोर विसर्जनका लागि सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले एक सातामै तीनपटक फरक–फरक सरोकारवालासँग सहमति गर्नुपरेको छ। सोमबार, बिहीबार र शुक्रबार भएको पटक–पटकको सम्झौता र सहमतिपछि फोहोर विसर्जन समस्या तत्कालका लागि समाधान भएको हो।

सहरी विकास मन्त्रालयमा शुक्रबार बिहान भएको सहमति कार्यान्वयन गर्ने सरकारी प्रतिबद्धतापछि बञ्चरे डाँडा संघर्ष समितिले आजबाटै काठमाडौंको फोहोर फाल्न दिने निर्णय गरेको छ।

संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेसँगै काठमाडौंबाट गएका ट्रकहरूले ल्यान्डफिल साइटमा फोहोर खसाल्न थालेका छन् । नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *